लिम्बुवान आन्दोलनले राज्यलाई यस मुद्दामाथि नियाल्न बाध्य पारेको अवस्था छ । लिम्बुवान आन्दोलन के हो भन्ने विषयमा राज्य र लिम्बुवानबीच विभिन्न सन्धि, सहमति र सम्झौताहरू हुँदै आएको छ । वि.सं. २०६४ फागुन १८ गते भएको पाँच बुँदे सहमतिलगायत निरन्तर शान्तिपूर्ण आन्दोलनहरू लिम्बुवान क्षेत्र र राज्यभरि नै वर्षाैंदेखि चलिरहेको छ । पछिल्लो समयमा लिम्बुवान दश प्लस एक प्रदेशको विषयमा निरन्तर राज्यसँग सङ्घर्ष, वार्ता, छलफलको चरणमा छ । २०७५ असोज २१ गते सरकारको तर्फबाट सांसद् सोमप्रसाद पाण्डेको संयोजकत्व र लिम्बुवानको तर्फबाट पार्टी अध्यक्ष कुमार लिङ्देनको संयोजकत्वमा गठन भएका वार्ता समितिबीच राज्य पुनःसंरचनालगायतका विषयमा सैद्धान्तिक र राजनीतिकरूपमा सहमति भएको थियो । लिम्बुवानले यस्ता विभिन्न स्तरमा दश प्लस एकलगायत अरुण पूर्व नौ जिल्ला लिम्बुवान नै किन भन्ने विषयमा सर्वसाधारणलगायत आम लिम्बुवानी जनतासँग अन्तरक्रिया, बहस, छलफल निरन्तर रूपमा गर्दै आएको छ ।
हुन सक्छ, लिम्बुवान आन्दोलनको नेतृत्व गरिरहँदा नेतृत्वमा केही कमीकमजोरीहरू नभएको भन्न सकिँदैन । तर त्यस्ता कमिकमजोरीहरूलाई नेतृत्वले समीक्षा गर्दै निरन्तर आन्दोलनलाई अगाडि बढाउने कार्यदिशातिर लागिरहनु पर्छ । यस्ता सानातिना कमीकमजोरीलाई व्यापारजस्तो नाफा र घाटामा तुलना चाहिँ गर्न मिल्दैन । लिम्बुवान आन्दोलनलाई सिध्याउने खेल लिम्बुवान समुदायबाट नै भइरहेकोले आन्दोलन निष्कर्षमा पुग्न केही समय लाग्न सक्छ । तर लिम्बुुवान आन्दोलनले पक्कै पनि लक्ष्य प्राप्त चाहिँ गर्न सफल हुनेछ । यस्तो विषम परिस्थिति प्रदेश नं. १ को नामाकरणको मुद्दा चर्किरहँदा लिम्बुवान आन्दोलनलाई घाटा भयो भनेर आन्दोलनलाई कमजोर तुल्याउन खोज्नु चाहिँ आकाशमा फर्किएर थुक्नु जस्तो मात्र हो ।
लिम्बुवान स्प्रिङ आन्दोलनमा लिम्बुवान पार्टी नै आबद्ध छ छैन भन्ने विषयभन्दा पनि यो अरुणपूर्व नौ जिल्ला लिम्बुवान प्रदेश हुनुपर्छ भन्ने समूहले यो आन्दोलन शुरु गरेको हो । यसमा को को सहभागी छन् भन्नु भन्दा पनि यस आन्दोलनले लिम्बुवान प्राप्तिको लागि कस्तो सङ्घर्ष गर्छ भन्ने विषय महत्वपूर्ण हो । यो आन्दोलनको टिकाटिपणी गर्नुभन्दा लिम्बुवान स्प्रिङ आन्दोलनमा सहभागी भएर सशक्त रूपमा अगाडि बढाउनु आजको आवश्यकता देखिन्छ । यस आन्दोलनलाई रक्सी र बोतलको लाञ्छना लगाउनुभन्दा आन्दोलनलाई मूर्तरूप दिन अभियानको खाँचो देखिन्छ । आन्दोलनको स्वरूपसँग सरोकार नराखी कि त मौन समर्थन दिन जरुरी छ, कि त आन्दोलनमा होमिन । लिम्बुवान स्प्रिङ आन्दोलनले आफ्नै जातीय संस्थामाथि धावा बोलेको चाहि होइन भन्ने बुझिन्छ । यदि चुम्लुङमाथि धावा बोल्ने थियो भने कार्यक्रम हलभित्रै कालोझण्डा देखाउने थियो तर किन देखाएन भन्ने विषयले नै स्पष्ट हुन्छ ।
लिम्बुवान स्प्रिङ आन्दोलनको जहाँसम्म मुख्य उद्देश्य भनेको लिम्बुवान विरोधी तŒवहरूलाई सजग र लिम्बुवान स्वीकारोक्ति बनाउने कार्य गर्नु हो न कि त्रास, धाक–धम्की देखाएर आतङ्कित पार्ने वा आतङ्क मच्चाउने हो । भक्तकुमार राई लिम्बुवानविरोधी भए कालोझण्डा देखाउने या नदेखाउने भन्ने विषय स्प्रिङ आन्दोलनको हो । भक्तकुमार राईको गतिविधि लिम्बुवानविरोधी हो कि होइन भन्ने मूल्याङ्कन गर्ने काम स्प्रिङ आन्दोलनको हो । लिम्बुवान आन्दोलनले कहिले पनि अरुको पहिचान र अस्तित्व लाई नकारेको छैन । तर अरुणपूर्व नौ जिल्ला लिम्बुवान भन्ने विषयमा स्पष्ट छ । लिम्बुवान आन्दोलनले आरोप प्रत्यारोप खेप्न सधैँ तत्पर रहन्छ किनकि सुन र हीराको मूल्य प्रतिमिनेट घट बढ हुन्छ । पहिचान र लिम्बुवानको आन्दोलन धान र मकैको खेतीजस्तो चाहिँ होइन । ६–६ महिनामै फलेजस्तो त्यति सजिलो हुँदैन । राज्य पुनःसंरचना धेरै गाह्रो विषय हो । न कि तुरुन्त लक्ष्य प्राप्ति हुन्छ ।
लिम्बुवान आन्दोलनले लिम्बुवान प्रदेशलाई आधारक्षेत्र मान्दै पहिचान र दश प्लस एक प्रदेशको अवधारणालाई सधैँ आत्मसात गर्दै आन्दोलनलाई निष्कर्षमा पु¥याउन जस्तोसुकै मूल्य चुकाउनसमेत तत्पर छ । हुनसक्छ केही असन्तुष्ट नेताहरू आन्दोलनबाट पन्छिएर पहिचानको आन्दोलनलाई विफल पार्न विभिन्न शैलीमा लिम्बुवान आन्दोलन र नेतृत्वलाई कपोलकल्पित एवम् निराधार आरोप लगाउँदै पहिचान विरोधी पक्षको दलाली गर्दै तर (छाली) खाने बानी परेकाले लिम्बुवानको आलोचना गर्दै प्रदेशको नामाकरण गर्ने बेलामा पहिचानवादी र लिम्बुवान आन्दोलनलाई धावा बोल्दै बस्ने द्वैध चरित्र बोकेका मित्रहरूले आन्दोलनलाई बिडम्बना देख्नु स्वभाविकै हो । पहिचान विरोधीले दिएको नुनको सोझो गर्नुपर्ने हुन्छ ।
लिम्बुवान आन्दोलनलाई धर्मसँग जोड्न चाहिँ मिल्दैन । किन कि राजनीत र धर्म फरक विषय हुन् । धर्मको विषयमा लिम्बुवान नितान्त राजनीतिक दल हो । राजनीतिक पार्टीको धर्म हुँदैन । राजनीतिक दलमा आबद्ध हुनको लागि धर्मसँग सरोकार हुँदैन । जुनसुकै पृष्ठभूमिको व्यक्ति भए पनि राजनीतिमा पार्टी प्रवेश गर्न पाइन्छ । पार्टी प्रवेश गर्दा कुन धर्म मान्नु हुन्छ ? भन्ने कुनै पार्टीको विधान र घोषणा–पत्रमा उल्लेख हुँदैन । पार्टीमा विचार र सिद्धान्त मिल्ने व्यक्तिहरू एउटा पार्टीमा आबद्ध भएर पार्टी सञ्चालन गर्ने गर्दछन् । लिम्बुवान आन्दोलनलाई राज्यले पूर्ण रूपमा मान्यता दिएको छ । जस्तोसुकै आलोचना भए पनि सत्य कुरा लिम्बुवान आन्दोलनलाई विफल बनाउने तत्वहरू बेवास्ता गर्दै निरन्तर सङ्घर्षरत छ र आउने समयमा लिम्बुवानसहितको दश प्लस एक प्रान्त प्राप्तिको लागि जस्तोसुकै मूल्य चुकाउन भए पनि तत्पर भइरहन्छ । त्यसैले लिम्बुवान आन्दोलनलाई विडम्बना होइन, सार्थकता हो भन्न सकिन्छ ।
(लेखकः सङ्घीय लिम्बुवान मञ्च नेपालका सुनसरी जिल्ला अध्यक्ष हुन् ।)