धरान  । धरान बास्केटबल सङ्घको आयोजनामा भएको १० औं बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण सम्पन्न भएको छ ।

गत वैशाख ३ गतेदेखि धरानस्थित रङ्गशालाको इन्डोर बास्केटबल कोर्टमा सञ्चालन भएको प्रशिक्षण क्याम्पमा ५० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । सङ्घले बास्केटबल खेलको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत १३ वर्षदेखि नियमितरूपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सञ्चालन गर्दै आइरहेको जनाएको छ ।

विशेषतः एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम आयोजना गरिए पनि यसवर्ष कक्षा ४ सम्मका विद्यार्थीहरूले समेत सहभागिता जनाएका थिए । क्याम्पमा सहभागी उत्कृष्ट खेलाडीहरूलाई धरानका विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

मङ्गलबार भएको समापन कार्यक्रममा अध्यक्ष सुवेदी र मुख्य प्रशिक्षक विकास चाम्लिङ राईले सहभागी विद्यार्थीहरूलाई प्रमाण–पत्र वितरण गरेका थिए । यसअघि सम्पन्न ९ औं ट्यालेन्ट हन्टमा सहभागी भएका करिब दुई दर्जन महिला तथा पुरुष विद्यार्थी अहिले धरानका मेघा हिमालयन कलेज र डिपो स्कुलमा कक्षा ११ मा अध्ययनरत छन् । ती विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा छात्रवृत्ति प्रदान गरिएको सङ्घले जनाएको छ ।