पथरीशनिश्चरे/ प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार र सोमबार मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विराटनगर अवतरण गरेर आइतबार सवा १२ बजे मोरङको उर्लाबारी नगरपालिकामा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनियरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्नेछन् । त्यहाँ प्रदेशका पार्टी कार्यकर्तालाई प्रशिक्षण समेत दिनुहुने पार्टीका प्रदेश सदस्य युवराज वास्कोटाले जनाए । प्रधानमन्त्री ओली आउने भएपछि मंगलबारेको थापाचोक दक्षिणमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानको कार्यालयसम्म पुग्ने सडक प्रतिष्ठान र नगरपालिकाको साझेदारीमा हतारोमा कालोपत्रे भएको छ ।

अपरान्ह ३ बजे उनले आफ्नो निर्वाचन क्षेत्रको दमक नगरपालिका परिषरमा आयोजना हुने प्रदेश नम्वर १ स्तरीय साहित्यिक र प्राज्ञिक गोष्ठीको उद्घाटन गर्नेछन् । त्यसपछि नगरपालिका भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको नगरपालिका कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार नै कमल गाउँपालिकाको लखरपुरमा वन्ने मदन भण्डारी रंगशालासम्बन्धी सरोकारवालाहरुसँग छलफल र भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको नेकपा पार्टीले जनाएको छ ।

सोमबार बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नेकपाको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनेछन् । दमकमै निर्माण गरिएको पशुपंक्षी हाट उद्घाटन गर्नेछन् ।

अन्तिम कार्यक्रमका रुपमा प्रधानमन्त्री ओली दिउँसो भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिकामा रहेको स्कुल चौन माविको भवन उद्घाटन र हस्तान्तरण कार्यक्रममा सरिक हुनेछन् । त्यसपछि उनी सोमवारै काठमाडौं फर्किने कार्यक्रम रहेको उनका प्रेस विज्ञ चेतन अधिकारीले जनाएका छन् ।