ताप्लेजुङ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संविधानको मर्म र भावनाविपरीत बोल्दै हिँड्ने आफ्ना पार्टीका जिम्मेवार नेताप्रति असन्तुष्टि जनाएका छन् ।

जिम्मेवार नेताले संविधानविपरीत सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताका विषयमा फरक विचार राख्दै हिँड्नुले पार्टी नै कमजोर अवस्थामा पुग्ने खतरा बढेको बताएका हुन् । ताप्लेजुङमा बुधबार आयोजित कार्यकर्ता भेटघाट तथा विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले आफ्नै पार्टीको नेतृत्वमा बनेको संविधानमाथि नै प्रश्न चिह्न खडा हुने गरी पार्टीको विधान र निर्णयविपरीत नबोल्न आग्रह समेत गरे ।

पार्टीको महाधिवेशनले पारित गरेका विधान, नीति तथा कार्यक्रम नै पार्टीको आधिकारिक धारणा भएकाले संविधानको मर्मविपरीत बोल्ने नेताका विचार नितान्त निजी भएको स्पष्ट पारे । यस्तै पार्टीको नेतृत्वसमेत कमजोर भएकाले पछिल्लो निर्वाचनमा पराजय बेहोर्नु परेको उनको तर्क थियो ।