पथरीशनिश्चरे/ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश–१ का नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिने भएका छन् ।

मोरङको उर्लाबारी–३ मङ्गलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको चैत १७ गते हुने १८ औँ साधारणसभा उद्घाटनपछि नेकपा अध्यक्ष समेत रहेका ओलीले प्रशिक्षण दिने भएका हुन् । पार्टी एकता कसिलो पार्दै सरकारको समृद्धिको अभियानमा आमजनमानसको सहकार्यको लहर अघि बढाउन प्रशिक्षण कार्यक्रमको महत्व रहने जनाइएको छ ।

बिहीबार नेकपाको पथरीशनिश्चरे पार्टी कार्यालयमा नगर, जिल्ला तथा प्रदेशका नेताहरूको अगुवाईमा भएको भेलाले प्रशिक्षणसहितका कार्यक्रमका बारेमा जानकारी गराएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश सदस्य युवराज बास्कोटाले पार्टी एकता कसिलो पार्दै मदन भण्डारीको ज्ञानलाई सीपसँग जोड्ने समृद्धिको अभियान सहितको प्रशिक्षणमा सहभागी हुन आह्वान गर्दै कार्यक्रम उपलब्धिमुलक हुने जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले साधारणसभाको उद्घाटन गर्नुका साथै रजतवर्षको शुभारम्भ, मदन भण्डारी पार्क तथा स्कुल अफ इञ्जिनियरिङको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली प्रतिष्ठानको संरक्षक समेत रहेका छन् ।