मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लास्थित मावा खोला किनारको वन क्षेत्रमा सुकुम्वासीका नाममा रातारात दर्जनौ टहरा निर्माण गरिएका छन् ।
बुधबार सव डिभिजन वन कार्यालय मङ्गलबारेको टोलीले स्थलगत निरीक्षण गरी टहरा निर्माण गरिरहेका व्यक्तिहरूलाई जग्गा खाली गर्न चेतावनी दिएको छ । झापाको दमक र मोरङको मधुमल्ला जोड्ने मावामा पक्की पुल बनेसँगै भविष्यमा लाभ लिने मनसायले गिरोह नै खडा गरी जग्गा हडप्न शुरु भएको पाइएको वन कार्यालयले जनाएको छ ।
बाढीपीडित, सुकुम्वासी र भूमिहीनको नाममा वन अतिक्रमण भइरहेको वन कार्यालयले बताएको छ । बाढीपीडित र सुकुम्वासीको नाममा वन अतिक्रमण भएको देखिए पनि आफ्नो निजी जमिन हुने समेत वन अतिक्रमणमा संलग्न भएको कार्यालयले जनाएको छ । हाल धमाधम टहरा निर्माण भइरहेको स्थानमा करिब १ किलोमिटरसम्म १० धुरदेखि १ कट्ठासम्मको कित्ता बनाएर अतिक्रमण भइरहेको हो । उक्त क्षेत्रमा घर जग्गा नहुनेभन्दा निजी जमिन भएका हुने खानेले बढी अतिक्रमण गरेको स्थानीयहरूको दाबी छ ।
सहायक वन अधिकृत तारिणीप्रसाद चौधरी जग्गाको लालपुर्जा भएकाहरूले समेत वन अतिक्रमण गरेर स्थायी संरचना बनाएको फेला परेको बताउँछन् । जुनसुकै बहानामा भए पनि वन अतिक्रमण गर्न नमिल्ने बताउँदै चौधरीले गाँउपालिकासँग समन्वय गरेर टहरा खाली गर्ने जानकारी दिए । यता मिक्लाजुङ गाउँपालिका अध्यक्ष देविप्रसाद आचार्यले भने अतिक्रमणको विषयमा सर्वदलीय बैठक भइसकेको र उनीहरूलाई त्यहाँबाट अन्यत्र जान भनिसकेको बताए ।
उनी भन्छन्, ‘सुकुम्बासी नै हो भने निवेदन लिएर आए हामी पहिचान गरेर उचित व्यवस्थापन गर्छौं।’ मिक्लाजुङ गाउँपालिका–९ का वडाध्यक्ष सोमनाथ अधिकारी सुकुम्बासी समस्याको दीर्घकालीन समाधान भइरहेकोले हतारिएर वन क्षेत्रको जग्गा कसैले पनि ओगट्न नहुने बताउँछन् । भन्छन्, ‘बाढीको जोखिम पनि भएकोले सो स्थानमा टहरा बनाउनेहरू तत्काल हट्नुपर्छ ।’
































