काँकडभिट्टा/ झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीका ४० वर्षीय युवा केशव सुवेदी पशुपालन व्यवसायमा आत्मनिर्भर बनेका छन् ।

बिर्तामोडस्थित बायो ग्याँस कम्पनीमा प्रबन्धकको छँदाछँदैको जागिर छाडेर उनले पशुपालनलाई रोजगारीको माध्यम बनाएका हुन् । १४ वर्षे अवधि बायोग्याँस कम्पनीमा जागिरे जीवन बिताएका जाँगरिला युवा सुवेदी २०६९ साल साउन महिनादेखि गाईपालनमा व्यस्त छन् । सुवेदीले शुरुमा ५ वटा गाईपालनबाट शुरु गरेको फर्म अहिले बाहुनडाँगी कृषि तथा पशुपालन प्रालि बनाउन सफल भएको उनले बताए ।

उनको फर्ममा अहिले १ सय ४ वटा गाई रहेका छन् । उनले दैनिक ११ सय लिटर दूध उत्पादन गर्ने गरेको बताउँछन् । उनको फर्मबाट उत्पादित दूध शुरुमा भारतीय बजारमा बिक्री हुनेगथ्र्यो । तर पछि आफूले सोचेजस्तो भारतीय बजारका डेरीले मूल्य नदिएपछि भारत निर्यात् गर्न बन्द गरेको सुवेदी बताउँछन् । तर अहिले झापाको मेचीनगरमा रहेको रितिका डेरीले उनको दूध किनिदिने बताए ।

सुवेदीले ११ जनालाई आफ्नो फर्ममा रोजगारी दिएका छन् । उनले सबै खर्च कटाएर आफूले मासिक रूपमा २ लाख भन्दा बढी कमाउने गरेको बताए । हाल यो अवस्थासम्म आइपुग्नका लागि श्रीमती ऐश्वर्याको साथ र सहयोगले पनि एक सफल कृषक भएको उनी बताउँछन् । ‘१ बिघा क्षेत्रफलमा गाईको गोठ रहेको छ, १७ बिघा जमिन लिजमा लिएर आधुनिक तरिकाले घाँस रोपेको छु ।’ सुवेदीले भने, ‘कृषिमा भविष्य छैन भन्दै रोजगारीका लागि लाखौं नेपाली युवा दिनहुँजसो विदेश पलायन भइरहेका छन्, तर मैले चाहिँ यहीँ गर्न सकिन्छ भन्ने विश्वासमा कर्म गर्दै आएको छु । ’

कृषिमा भविष्य छ भन्ने सुवेदी भन्छन्, ‘हाम्रो देश नै कृषि प्रधान हो, ८० प्रतिशत नेपाली कृषिमै आश्रित छन्, आँट गर्नुपर्छ नेपालीको भविष्य नै कृषिमा छ ।’ १० लाख रुपैयाँ लगानी गरी सञ्चालनमा ल्याइएको व्यवस्थित गाई फार्ममा अहिलेसम्म २ करोड भन्दा बढी लगानी भइसकेको सुवेदीले बताए । सरकारले कृषि क्षेत्रलाई उपेक्षा गरेकै कारण कृषि पेशा धरापमा परेको तर्क गर्दै सुवेदीले कृषिमार्फत् कृषकको जीवनस्तर उकास्दै नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । सरकारले कृषकलाई आधुनिक कृषि औजार, माटो परीक्षण, बीउ, मलखाद, तालिम, अनुदानलगायतको प्रबन्ध गरिदिए युवाको विदेश पलायन नियन्त्रण हुन सक्ने बताउँछन् ।