विराटनगर/ सरकारले विप्लव समूहमाथि प्रतिबन्धित लगाएपछि प्रहरीले आइतबार मोरङको कानेपोखरी गाउँपालिका–४ नारायणचोकबाट पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेतालाई धरानमा राखेर अनुसन्धान शुरु गरिएको छ ।
नेकपाका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुस्कर) र सदस्य माधव गौतमलाई जिल्ला अदालत सुनसरीबाट सङ्गठित अपराध र हातहतियार मुद्दामा म्याद थप गरी इप्रका धरानमा राखेर अनुसन्धान शुरु गरिएको हो । पक्राउ परेकामाथि जिल्ला अदालत सुनसरीमा सङ्गठित अपराध तथा हातहतियार मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।
विप्लवको आन्तरिक प्रशिक्षण आयोजना हुने सूचना पाएपछि पुगेको प्रहरीले श्रेष्ठ र गौतमलाई पक्राउ गरेको थियो । प्रहरीले पूर्वमा विप्लव समूहलाई पक्राउ गर्न सर्च अभियान शुरु गरेसँगै श्रेष्ठ र गौतमलाई पक्राउ गरेको हो । प्रहरीले अरु विप्लव समूका नेता कार्यकर्ताको पनि खोजी कार्य तीव्र बनाएको छ । प्रहरीले पक्राउबारे सञ्चारकर्मीलाई जानकारी दिन अस्वीकार गर्दै आएकोमा त्यसबारे समाचार आएपछि म्याद थप गरेको हो ।
सुनसरी प्रहरीले धरान उपमहानगरपालिका–६ पानमाराबाट केही समय अगाडि अत्याधुनिक हतियार बरामद गरेको थियो । प्रहरीले विप्लवका कोशी ब्युरो सदस्य सन्दीप भनिने देवकुमार लिम्बूलाई पक्राउ गरेको थियो भने अन्य एक जना फरार थिए । सेनाले मात्र प्रयोग गर्दै आएको ‘एलएमजी’ र ‘एम–१६’ हतियार मोरङको उत्तरी क्षेत्रमा सुरक्षित स्थानतर्फ लाने क्रममा नियमित चेकजाँचको क्रममा प्रहरीले बरामद गरेको हो ।
बरामद भएको हतियार विप्लवका कोशी ब्युरो संयोजक श्रेष्ठ र गौतमको निर्देशनअनुसार सुरक्षित स्थानमा पु¥याउन लगाएकाले उनीहरूलाई पक्राउ गरी म्याद थप गरी अनुसान्धान प्रक्रिया अगाडि बढाएको सुरक्षा स्रोतको भनाइ छ । हतियार बरामद भएको स्थान सुनसरी रहेकाले मोरङबाट श्रेष्ठ र गौतम पक्राउ परे पनि उनीहरूलाई धरान लगेर अनुसन्धान अगाडि बढाइएको बताइएको छ ।
प्रहरीले उनीहरूका साथबाट नगद, मोबाइल, केही कागजपत्र र विभिन्न सिमकार्डहरू बरामद गरेको जनाएको छ । स्रोतका अनुसार उनीहरूको साथबाट करिब ४ लाख रुपैयाँ नगद बरामद भए पनि प्रहरीले सार्वजनिक गरेको छैन । पूर्वपश्चिम राजमार्गको कानेपोखरीदेखि करिब ७ किलोमिटरमा पर्ने भित्री गाउँमा पक्राउ परेका नेकपा कार्यकर्तालाई पथरी ल्याएर सुनसरी लगिएको हो ।