इटहरी/ व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कोशी राजमार्गमा निर्माणाधीन ४९ किलोमिटर सडकमध्ये साढे ६ किलोमिटरमात्रै मापदण्डबमोजिमको हुने भएको छ ।
इटहरी बजार उत्तरदेखि तरहरा बजारसम्म ६ लेनको मापदण्डअनुसारको सडक विस्तार हुने भएको छ । अरु स्थानमा भने नामै मात्रको ६ लेन सडक हुने भएको हो । विराटनगरको रानीदेखि धरानसम्म ४९ किलोमिटर सडक विस्तारको क्रममा इटहरीको मुख्य बजारमा भने कति मापदण्ड राख्ने विषयको अन्यौलता अझै कायम छ । इटहरी बजार उत्तरदेखि तरहरासम्म सडक विस्तार गर्दा सडकको सेन्टरबाट दुवैतिर २५–२५ मिटर विस्तार गरिएको छ । जसले गर्दा ६ लेनको पूर्ण मापदण्डअनुसार भएको हो । अन्यत्र भने शुरुवातमा तयार गरिएको डीपीआर घटाएर सेन्टरबाट दुवैतिर १५–१५ मिटर विस्तार गरिएको हो ।
इटहरी उद्योग वाणिज्य सङ्घका सदस्य तथा सामाजिक अगुवा दिवस पोखरेलले सडक निर्माणले एकरूपता लिन नसकेको बताए । उनले भने, ‘त्यस कारण बाटो बढ्नु पर्छ, विकासको विरोधी इटहरीवासी हुनुहुँदैन ।’ सडक साँगुरिएर ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन पुगेको उनी बताउँछन् । इटहरीकी उपमेयर लक्ष्मी गौतमले पनि बाटोको मापदण्ड एउटै हुनु पर्ने बताइन् ।
‘सडक फराकिलो बनाउन अति आवश्यक छ, यस विषयमा बृहत् छलफलको आवश्यक्ता देखिन्छ ।’ उनले भनिन् । इटहरीकै राजु थापाले इटहरी क्षेत्रभरि सडक निर्माणको एउटै मापदण्ड हुनु पर्ने बताए । इटहरी चोकबाट दक्षिण लाइन ५५ फिट र इटहरी चोकबाट उत्तर ८२.५ फिट कायमको मापदण्ड विभेदकारी भएको भन्दै एउटै मापदण्डमा सडक निर्माणको माग गरे । उद्योग वाणिज्य सङ्घ इटहरीका पूर्व अध्यक्ष रोहित प्रसाईंले सडक विस्तारमा ५ खालको मापदण्ड भएको आरोप लगाए । ‘इटहरी दक्षिणबाट कहीँ ९० कहीँ ९५ कहीँ १ सय फिटमा रोड निर्माण भएर आएको छ, तर इटहरीदेखि उत्तर कहीँ ६०, कहीँ ६५ छ, यो कस्तो मापदण्ड हो ?’ उनले प्रश्न गरे ।
इटहरी उद्योग वाणिज्य सङ्घका कार्यवहाक अध्यक्ष शैलेश विष्टले ८२ फिट नै ल्याउने हो भने विराटनगरबाट इटहरीसम्म एकरूपता हुनुपर्ने बताए । बजारमा लगानी गरेर व्यवसाय गरेकाहरुको क्षतिपूर्ति लगायतका कुराको ध्यानमा राखेर सर्वपक्षीय छलफलबाट सबैलाई सहज हुने मापदण्ड बजारमा आवश्यक रहेको विष्ट बताउँछन् । ‘इटहरी बजारदेखि उत्तर तरहरा बजारसम्म मात्रै छ लेनको पूर्ण मापदण्ड अनुसारको सडक हुनेछ, अरुतिर भने एकरुपता हुने छैन ।’
६ लेन सडक विस्तार आयोजना इटहरीका इञ्जिनियर उपेन्द्र दासले भने । उनका अनुसार इटहरी बजार उत्तरदेखि तरहरा बजारसम्म पैदलयात्रुका लागि फुटपाथ र सडकको सेन्टरमा तीन मिटरमा बगैँचा हुनेछ । ‘अब ठेक्का लगाउन बाँकी तरहरा–धरान सडक खण्डको १४ किलोमिटरमा पनि वनले रुख कटानका लागि सहमति नदिँदा छ लेनको पूर्ण मापदण्डअनुसार हुने छैन,’ दासले भने । तरहरादेखि धरानसम्म सडक विस्तारका लागि वन कार्यालयले १ हजार ४ सय ९ वटा रुख कटान गर्न स्वीकृति दिएको छ ।
०६९/०७० बाट शुरु भएर सात वर्षभित्रमा सडक विस्तार गर्ने लक्ष्य राखिए पनि अझै कम्तीमा चार वर्ष लाग्ने अनुमान गरिएको छ । पूरै सडक निर्माण गर्दा शुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएकोमा अहिलेसम्म निर्माणधीन सडक सात अर्ब ५३ करोड १० लाखमा ठेक्का लागेको हो । सडक विस्तार गर्दा इटहरीदेखि दक्षिणतर्फको पाँच किलोमिटर सडक विस्तार गर्न टेङ्ग्रा खोला मुख्य समस्या बनेको छ ।
टेङ्ग्रा खोलालाई ६ लेनको सडक विस्तार गर्न मिल्ने गरी पूर्वतर्फ धकेल्दा निजी जग्गा पर्छ । टेङ्ग्रा खोलालाई व्यवस्थापन गर्नका लागि ८० करोड हाराहारी बजेट लाग्ने अनुमान गरिएको छ । तर, अर्थ मन्त्रालयले भने सहमति दिएको छैन ।
































