विर्तामोड/ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले बर्तमान सरकार आर्थिक रूपमा असफल भइसकेको टिप्पणी गरेका छन् ।
 
देशभित्रकै लगानीकर्ता र उद्योगीलाई हतोत्साही गरिरहेको सरकारले विदेशी लगानी भिœयाउन अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्नुको कुनै अर्थ नहुने समेत उनले बताए ।
 
नेपाली काङ्ग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले सरकारले आगामी चैत १५ र १६ गते गर्न लागेको लगानी सम्मेलनप्रति टिप्पणी गर्दै यस्तो धारणा राखेका हुन् । देशमै भएको कुरा सम्हाल्न नसक्ने सरकारले विदेशी लगानी भिœयाउन नसक्ने भन्दै उनले विगतमा गरिएको लगानी सम्मेलनमा आएको प्रतिबद्धता अनुरूप देशमा लगानी भित्रिन नसकेको बताए ।
 
दुईतिहाई बहुमतप्राप्त सरकारले जनपक्षीय काम गर्न र सरकार छ भन्ने जनतालाई अनुभूति दिलाउन नसकेको भन्दै नेता सिंहले वर्तमान सरकार विधिको शासनबाट नचलेको र सरकारले हत्या, हिंसा, बलात्कारजस्ता सामाजिक अपराधमा संलग्नलाई संरक्षण गरेको आरोप लगाए । केन्द्र, प्रदेश र स्थानीय तहमा समेत कम्युनिष्ट पार्टीको बहुमत देखिए पनि तीनै तहका सरकारले निर्वाचनताका गरेका कुनै पनि प्रतिबद्धता पूरा नगरेको बताउँदै सिंहले प्रश्न गरे, ‘खै एक वर्षको अवधिमा सरकारले के ग¥यो ?’ कानून निर्माणमा समेत सरकारले ढिलाइ गरेको भन्दै उनले सरकार आर्थिक सामाजिक रूपमा असफल भइसकेको टिप्पणी गरेका छन् । अहिलेको नेतृत्वले विधिसम्मत तरिकाले काङ्ग्रेस पार्टी चलाउन नसकेको भन्दै उनले पार्टीलाई संस्थागत  गर्नुपर्नेमा जोड दिए ।
 
काङ्ग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था र समानुपातिक सिटमा एकै व्यक्तिलाई आरक्षण दिइरहने प्रवृत्तिको अन्त्य अनिवार्य भएको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै काङ्ग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक भिष्मराज आङ्देम्बेले देश विखण्डनको मुद्धा बोक्ने सिके राउतसँग विवादास्पद सम्झौता र विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध गरेर सरकारले देश विखण्डनतर्फ लैजान लागेको आरोप लगाए ।
 
बहुमतको सरकारले प्रतिपक्षी आवाजको सम्मान गर्नुपर्नेमा बहुमतको दम्भका कारण वर्तमान सरकारले प्रतिपक्षीलाई गुमराहमा राखेर थुप्रै देशघाती निर्णय गरेको आरोप उनले लगाए । अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हृदयराम थानीले प्रधानमन्त्रीले आदर्शको कुरा गरे पनि व्यवहार ठीक विपरीत भएको बताउँदै भ्रष्टचारीलाई कारवाही गर्न नसकेको धारणा राखे । ‘सरकार यही गतिमा हिँडे पाँच वर्ष टिक्दैन’ नेता थानीले प्रजातन्त्र जोगाउने शक्ति काङ्ग्रेसमा मात्रै रहेको दाबी गरे ।
 
काङ्ग्रेस केन्द्रीय सदस्य तथा राष्ट्रिय सभामा काङ्ग्रेसका तर्फबाट प्रमुख सचेतक सरिता प्रसाईंले आदेशका भरमा सेना चलाउन सकिने प्रावधानसहितको सुरक्षासम्बन्धी विधेयक सरकारका तर्फबाट संसदमा पेश भएको जानकारी दिदै यो लोकतन्त्रका लागि खतरनाक भएकोले प्रतिपक्षीले विधेयकका विपक्षमा  जोडदार आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।