विराटनगर/ पछिल्लो समय हिंसात्मक गतिविधिमा सक्रिय रहेको भन्दै सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पक्राउ गर्न प्रहरीले पूर्वमा सर्च अभियान शुरु गरेको छ ।
 
पूर्वका उत्तरी र दक्षिण भेगका बस्तीहरूमा बसेर विप्लव समूहले विभिन्न गतिविधि तथा बैठक सञ्चालन गरिरहेको सूचनाको आधारमा प्रहरीले पक्राउ गर्न सर्च अभियान शुरु गरेको हो । प्रदेश–१ का विभिन्न जिल्लाको  ग्रामीण बस्ती र पहाडी क्षेत्रमा विशेष प्रहरी परिचालन गरी सर्च अभियान शुरु गरेको उच्च स्रोतको दाबी छ । प्रहरीले केही दिन अगाडि जिल्लाबाट गएको डीएसपी नेतृत्वको विशेष प्रहरी टोलीले मोरङको उत्तरी क्षेत्र केराबारी, लेटाङ, जाँते, याङशिलालगायतका गाउँमा पुगेर विप्लव समूहका गतिविधि बुझ्ने र पक्राउ गर्ने योजनाको साथ पुगेको थियो । तर त्यसबेलामा प्रहरीले विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ गर्न नसकेको सुरक्षा स्रोतले बतायो । ‘सरकारले प्रतिबन्ध लगाएसँगै विप्लव समूहले अहिले फोन स्वीच अफ गरेर गाउँ छाडेर बसेका छन् । त्यही भएर पनि पक्राउ गर्न समस्या भएको छ,’ सुरक्षा स्रोतले भन्यो । 
 
सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै प्रहरीले उनीहरूको निगरानी कडा बनाएको छ । प्रहरीले सूचना सङ्कलन, निगरानी र कारबाहीको काम गोप्य राख्न प्रदेश प्रहरी कार्यालयअन्तर्गतको विशेष ब्युरोलाई पनि सक्रिय बनाएको छ । पछिल्लो समय सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी अधिकारी बताउँछन् । विप्लव समूहले तराईभन्दा पहाडी जिल्लामा सुरक्षा चुनौती बढाउन सक्ने निष्कर्ष निकाल्दै सतर्कता अपनाएको हो ।
 
विभिन्न पहाडी जिल्लामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा गस्ती शुरु गरिएको छ । प्रहरीले विप्लवका नेता–कार्यकर्ता रहने सम्भावित स्थानमा सर्च गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले सम्भावित घटना हुन नदिन सुरक्षा गस्ती बढाएको बताए । ‘सुरक्षालाई ध्यान दिँदै लामो दूरीको गस्ती गर्दै आएका छौं,’ एसपी केसीले भने, ‘यो निरन्तर प्रक्रिया हो ।’   
 
ब्युरो प्रमुख श्रेष्ठ र सदस्य पक्राउ 
प्रहरीले आइतबार साँझ सर्च गर्ने क्रममा नेत्रविक्रम चन्द समूहका कोशी ब्युरो संयोजक ओखलढुङ्गा घर भएका घनश्याम श्रेष्ठ (पुष्कर) र काभ्रे घर भएका ब्युरो सदस्य माधव गौतम (आकाश) लाई पक्राउ गरेको छ । 
 
स्रोतका अनुसार श्रेष्ठ र गौतमलाई गाउँमा बसेर शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा कानेपोखरी गाउँपालिका–४ नारायणचोकबाट पक्राउ गरेको हो । 
 
मोरङको कानेपोखरी गाउँपालिकामा विप्लव समूहका नेता तथा कार्यकता रहेको विशेष सूचना पाएपछि प्रहरीको विशेष टोली त्यसतर्फ प्रस्थान भएको थियो । सर्च गरेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ । द्वन्द्वकालीन समयमा श्रेष्ठ तत्कालीन माओवादीका ब्युरो सदस्य थिए । उनी काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्षसमेत हुन् ।
 
श्रेष्ठ र गौतमलाई सादा पोशाकमा खटिएको विशेष प्रहरीको टोलीले पक्राउ गरेर विराटनगर ल्याएको सुरक्षा स्रोतको दाबी छ । 
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसी र  प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी केदार रिजालले श्रेष्ठ र शर्मा पक्राउ परेको विषयमा कुनै जानकारी दिएका छैनन् ।
 
यता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पूर्वी ब्युरो प्रमुख श्रेष्ठ र गौतमलाई प्रहरीले पक्राउ गरिएको भन्दै रिहाइको माग गरेको छ । पार्टीको पूर्वी कमाण्ड इञ्चार्ज विरहीले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले श्रेष्ठ र शर्मालाई विनाकारण पक्राउ गरेको र तत्काल नछाडे जनप्रतिरोधमार्फत् कडा कदम चाल्ने विज्ञप्तिमार्फत् चेतावनी दिएका छन् ।