धरान/ मागअनुरूप खानेपानी आपूर्ति गर्न नसक्दा सुख्खायाम शुरु भएसँगै धरानबासी काकाकूल बन्ने अवस्था सिर्जना भएको छ ।
नेपाल खानेपानी संस्थान धरान शाखा र एसियाली विकास बैङ्क (एडिबी) को ऋण अनुदानमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाको आ–आफ्नै तालका कारण धरानबासी काकाकुल बनेका हुन् । धरानमा दैनिक ३ करोड २० लाख लिटर खानेपानीको माग छ । खानेपानी संस्थानले अहिले भूमिगत स्रोतबाट दैनिक ७० लाख र सर्दुखर्दुबाट दैनिक ४५ लाख लिटर मात्रै पानी आपूर्ति गरिरहेको छ । यता आयोजनाले पनि कति पानी निकालिरहेको छ भन्ने यकिन तथ्याङ्क हालसम्म दिएको छैन । गत जेठमा खानेपानी संस्थानलाई दिएको तथ्याङ्कमा दैनिक २ लाखदेखि माथि १३ लाख लिटरसम्म पानी आपूर्ति गरेको थियो ।
तर, आयोजनाले १ करोड ५२ लाख लिटर प्रतिदिन खानेपानी आपूर्ति गर्ने गरी सम्झौता गरेको थियो । आयोजनाले सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त सङ्र्घष समितिसँग ११ बुँदे सहमति अन्तर्गत नवौं बुँदामा १ करोड ५२ लाख लिटर पानी उत्पादन गर्ने भन्ने उल्लेख छ । तर, त्यो परिमाणमा पानी आपूर्ति भएको दाबी गर्न भने छाडेको छैन । एडिबीकै खानेपानी जोडेका धरान–१५ का दक्षिणी क्षेत्रमा पानी नआएको भन्दै व्यापक गुनासो गरेका छन् । ‘चार दिनदेखि एक बाल्टी भरिन घण्टौं लाग्छ ।’ धरान–१५ सुसन चोकका बेदकुमार सुब्बाले भने, ‘अस्तीको दिन त ढेड बाल्टी मात्रै आयो ।’
एडिबीले सम्झौता पूर्व २४ सैं घण्टा पानी दिने गरेको दाबी त दाबी मै सीमित भएको सुब्बाको भनाइ छ । धरान–१५ को महादेवचौक, साकेला चौकलगायतका दक्षिणी चोकबासी अहिले काकाकूल छन् । पाँच दिनअघि स्थानीयलाई जानकारी नदिई खानेपानी संस्थानको पाइपलाइनमा एडिबीले इन्टरकनेक्सन गरेदेखि नै खानेपानी आउन छाडेको उनले बताए । ‘सर्वोच्च अदालतमा गरेको स्टे अर्डरअनुसार आयोजनाले गैरकानूनी रूपमा जडान गरेको देखिन्छ ।’ उनले भने । अहिले अधिकांस क्षेत्रमा खानेपानीको अभाव शुरु भएको छ । विशेष गरी धरान–१५ ठूलो वडा भएकाले पनि पानीको अभाव व्याप्त भएको हो । यता खानेपानी संस्थानले पनि दुई दिनमा पानी वितरण गर्दै आएको छ । हरेक वर्ष सुख्खायाममा उत्पादन कम हुने गरेकाले दुई दिनमा एकपटक वितरण गर्दै आएको खानेपानी संस्थानका शाखा प्रमुख इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।
उ
नले संस्थानको भूमिगत स्रोतका दुई वटा पम्प बिग्रिएका कारणले पनि भनेजति पानी आपूर्ति गर्न नसकेको दाबी गरे । ‘३–४ दिनभित्र पम्प मर्मत भएपछि पहिलेकै अवस्थामा उपभोक्ताको घरमा पानी पुग्छ ।’ उनले भने । पानीको अभाव बढ्दै गएपछि चैत पहिलो साता खानेपानी संस्थानले आयोजनालाई पानीको माग गर्दै पत्राचार गरेको थियो । इन्जिनियर श्रेष्ठका अनुसार चैत ६ गते संस्थानले पत्र पठाएपछि आईयूडीपीले चैत ९ गतेदेखि दैनिक १० लाख लिटर पानी संस्थानको सुम्निमा सिस्टममा उपलब्ध गराउने भनिएको छ । तर, संस्थानमा सो परिमाणमा पानी नआएको संस्थानले बताएको छ । सोमबारबाट थप दैनिक २५ लाख लिटर पानी संस्थानलाई दिइरहेको जनाएको छ । उपभोक्ताहरूले पानी नआएको आक्रोस व्यक्त गर्न थालेपछि नगर कार्यपालिकाले बैठक बसेर खानेपानी बोर्ड र खानेपानी संस्थानसँग समन्वय गरेर तत्काल पानीको आपूर्ति सहज बनाउने निर्णय गरेको छ । सोही निर्णयअनुसार आइतबार आकस्मिक रूपमा खानेपानी बोर्ड, खानेपानी आयोजनाको परामर्शदातालगायतसँग बसेको बैठकले २५ लाख लिटर पानी सुम्निमा सिस्टममा दिने निर्णय भएको धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले जनाइन् ।
तर, उपभोक्ताले पानीको चरम अभाव महसुस गर्न थालेका छन् । धरान–८ का निमा तामाङले ३–४ दिनमा मात्रै पानी आउने गरेको गुनासो पोखे । उनले पानीले नपुगेर तीनकुनेबाट पानी ल्याइरहेको बताए । सन् २०१७ को जुनसम्ममा धरानमा खानेपानी वितरण गर्ने सम्झौता गरे पनि हालसम्म आयोजनाले पानी वितरण गर्न सकेको छैन । आयोजनाले विवादका कारणले पानी वितरण गर्न नसकेको दाबी गर्दै आइरहेको छ । तर, यथार्थमा विजयपुर सिस्टम निर्माणमा मात्रै विवाद उत्पन्न भएको थियो । अन्य सिस्टमबाट पनि पानी आपूर्ति गर्न नसकेकोमा नगरबासीको एडिबीको आयोजनाप्रति तीव्र आक्रोस देखिएको छ । ‘अब धरान जाग्नुपर्छ, खानेपानी माग्नुपर्छ’ भन्दै पानी देऊ दबाव समूह गठन भएको छ । ‘दुई अर्ब ऋण ल्याएर सबैलाई पुग्ने गरी पानी वितरण गर्छौ’ भन्ने निकायले पानी दिन सकेन भन्दै समूहले पर्चामार्फत् आक्रोस पोखेका हुन् ।
आयोजनाले डिजाइन बमोजिम नै पानी उत्पादन गरेको दाबी गरेको छ । तर, संस्थानको पाइपलाइनसँग इन्टरकनेक्सनका लागि हाल सर्वोच्च अदालतले स्टे अर्डर गरेका कारण काम अगाडि बढाउन नपाएको बताउँदै आइरहेको छ । धरान खानेपानी व्यवस्थापन बोर्डमा हचुवाको भरमा हस्तान्तरण गर्न लागेको भन्दै जनसरोकार मञ्च नेपालका सचिव भक्तसिंह राजपुतले नेपाल सरकार मातहतका ८ वटा निकायलाई विपक्षी बनाउँदै गत भदौंमा रिट हालेको थिए । सोही रिटउपर सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले गत भदौं २९ को धरान खानेपानी व्यवस्थापन वोर्डको पत्र कार्यान्वयन नगर्नु, नगराउनु, यथास्थितिमा राख्नु भनी आदेश दिएको छ । सोही आदेशकै कारण ‘इन्टरकनेक्सन’ को काम प्रभावित भएकाले पानी वितरणमा समस्या आएको दाबी आयोजनाको छ ।
































