विराटनगर/ निर्माण सामग्री बोकेर गुड्ने टिपर ट्राफिक प्रहरीले दिएको समयसीमाभन्दा अगाडि पुगे कारबाहीको भागीदार बन्नुपर्ने भएको छ । यो नियम सोमबार मोरङ, सुनसरी र झापामा एकसाथ लागू हुने भएको हो ।
तीव्र गतिमा गुड्ने टिपरको गति कम गर्ने र सवारी दुर्घटना न्यूनीकरण गर्न टिपरलाई ‘टाइम कार्ड’ आज(सोमबार)देखि लागू गरिने १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिए । प्रदेश ट्राफिकले मोरङको भाउन्नेमा एक कार्यक्रम आयोजना गरी टाइम कार्ड लागू हुने जनाएको छ । ‘टाइम कार्ड लागू गरिएपछि ट्राफिक प्रहरीले तोकेको समयमा टिपर गन्तव्यमा पुग्नुपर्ने हुन्छ’ १ नम्बर प्रदेश ट्राफिक प्रमुख पौडेलले भने, ‘तोकेको समयभन्दा अगाडि नै पुग्ने टिपरलाई कारबाही गरिनेछ ।’
टिपरलाई दिने टाइम कार्ड पासबुक आकारको रहने बताइएको छ । प्रहरीले सम्पूर्ण प्रक्रिया पूरा गरी झापा, मोरङ र सुनसरीका ट्राफिक प्रहरीको कार्यालयमा पु¥याएको छ । तीन जिल्लाको लागि १ हजार २ सय वटा पासबुक आकारको टाइम कार्ड बनाएको एसपी पौडेलले जानकारी दिए । सुनसरी र झापामा भन्दा मोरङमा सबैभन्दा बढी टिपर रहेको अनुमान गरिएको छ । मोरङमा दैनिक २ सय ५० देखि ३ सय वटासम्म टिपर चल्ने गरेको मोरङ ट्राफिक प्रमुख शिवकुमार पोखरेलले जानकारी दिए ।
‘किलोमिटरको आधारमा टिपरमा ‘टाइम कार्ड’ लागू गरिएको छ’ मोरङका ट्राफिक प्रहरी प्रमुख पोखरेलले भने, ‘निर्धारत समयभन्दा पहिले चालकले टिपर लगेमा कारबाहीको भागीदार बन्नेछ ।’ पहिलो पटक एक हजार रुपैयाँ जरिवाना असुल गरिनेछ । दोस्रो पटक पुनः नियमको उल्लङ्घन गरेमा कारबाहीको दायरा बढाउने तयारीमा रहेको प्रहरीको भनाइ छ । ‘टाइम कार्ड’ लागू भएपछि प्रहरीले छुटेको स्थान, पुग्ने स्थान, पुगेको समय र दस्तखत र छापसमेत लगाउनेछ । जस्तैः ट्राफिक प्रहरीले मोरङको भाउन्नेदेखि विराटचौकसम्म ९ किलोमिटरको दूरीलाई २० मिनेटको समयसीमा दिएको छ । भाउन्नेदेखि हिँडेको टिपर २० मिनेटभन्दा अगाडि विराटचौक पुगे ट्राफिकको कारबाहीमा पर्नेछ । ‘ट्राफिक प्रहरीले हरेक स्टेसनमा टाइम कार्ड दिएको पासबुक हेर्ने गर्दछौं’ –पोखरेलले भने ।
चालू आर्थिक वर्षको सात महिनामा प्रदेश १ मा२० वटा टिपर घटना भएका छन् । दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् भने ४३ जना घाइते रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । साउनयता मोरङमा १०, उदयपुरमा ४, झापामा २, सुनसरीमा २, सोलुखुम्बामा १, संखुवासभामा १ र भोजपुरमा १ वटा दुर्घटना भएको देखिन्छ ।
प्रहरीले टिपरका कारण हुने दुर्घटना न्यूनीकरणका लागि चालक नियमन तथा अनुशिक्षण कार्यक्रम गरेको थियो । प्रत्येक दिन टिपर चालकले १५ मिनेट कार्यक्रममा सहभागी भएर ट्राफिक प्रहरीबाट प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा ट्राफिक प्रहरीले चालकलाई टिपरका कारण भइरहेका दुर्घटना, दुर्घटना न्यूनीकरणका लागि अपनाउनु पर्ने सावधानी, तीव्र गतिका कारण हुने दुर्घटनालगायतका बारेमा सचेत गराउँदै चालकको अवस्था र सडकमा कुदाइने टिपर कन्डिसनमा भए नभएका बारेमा चेकजाँचसमेत गरिएको थियो ।
































