पाँचथर/ हिलिहाङ–७ माझीटारकी अनिता माझी २५ वर्षकी भइन् । तीन छोरा र दुई छोरी गरी पाँच सन्तानकी आमा हुन् उनी । कम उमेरमै विवाह बन्धनमा बाँधिन पुगिन् अनिता । सम्झाउने बुझाउने कोही थिएनन् । २५ वर्षमै पाँच सन्तानलाई जन्म दिनुप¥यो । सायद त्यसैले होला हेर्दा निकै उमेर खाएकीजस्ती देखिन्छिन् उनी ।
 
अनिताकी छिमेकी हुन् भीमकुमारी माझी । उनी २३ वर्ष पुगिन् । भीमकुमारी पनि तीन सन्तानकी आमा हुन् । उनको पहिलो सन्तान पाँच वर्षका छोरा छन् । त्यसपछि दुई छोरी छन्, तीन र दुई वर्षका । कलिलो उमेर, त्यसमा पनि कम जन्मान्तरमा आमा बन्नुप¥यो भीमकुमारीले पनि । 
 
माझीटारकै हुन् रीता माझी । १९ वर्षीया रीता सुनौलो भविष्य निर्माणका लागि साथीभाइसँग रमाउँदै कुनै कलेज धाउँदै गर्नुपर्ने उमेरकी हुन् । तर उनको काखमा अहिले आठ वर्षीय सन्तान छ । कक्षा–५ भन्दा माथि  पढ्न नजिकै स्कुल नहुँदा पढाइ छाडेकी उनी कलिलो उमेरमै विवाह गर्न पुगिन् ।
 
पाँचथर–तेह्रथुम सीमावर्ती तमोर नदी र हेँवा खोला किनारामा अवस्थित माझीटारमा अधिकांश माझी महिला २० वर्ष नपुग्दै आमा बन्ने गरेका छन् । शैक्षिक र आर्थिक अवस्था कमजोर भएका माझी समुदायका धेरै महिला शारीरिक र मानसिक रूपमा परिपक्व नहुँदै विवाह गर्ने र आमा बन्ने गरेको पाइएको हो ।
 
मुलुकी अपराध संहिता ऐनमा केटा र केटी दुवैले २० वर्षभन्दा कम उमेरमा विवाह गरे त्यो बालविवाह हुने र त्यस्तो विवाह स्वतः बदर हुने उल्लेख छ । तर कानून र कम उमेरमा गरिने विवाहबाट हुने शारीरिक तथा मानसिक जोखिमबारे जानकारी नहुँदा माझी समुदायका महिला २० वर्ष उमेर नपुग्दै विवाह गर्ने र आमा बन्ने गरेका हुन् ।
 
कम उमेरमै आमा बन्नुपर्दा माझी महिलाले विभिन्नखाले मानसिक तथा शारीरिक जोखिमको सामना गर्नुपरेको छ । त्यसैले उनीहरूको व्यक्तिगत विकास र भलाइमा पनि असर पु¥याएको माझी सङ्घ पाँचथरका अध्यक्ष जसबहादुर माझीको भनाइ छ । उनले भने, ‘हामीले व्यक्तिगत रूपमा सम्झाउने काम पनि गरेका हौं, तर पनि यो क्रम रोकिएको छैन ।’
 
स्थानीय विमला माझीका अनुसार छिट्टै विवाह गर्ने र त्यसमा पनि परिवार नियोजनका साधनको प्रयोग, जन्मान्तर राख्ने जस्ता कुरामा ज्ञान नहुँदा माझी महिला जोखिम मोलेर बर्सेनी आमा बन्न बाध्य छन् । उनले भनिन्, ‘म आफैले सहयोग गरेर केहीले परिवार नियोजनका साधन राखेका छन्, खाने चक्की, कण्डमजस्ता अस्थायी साधनसमेत उपलब्ध गराइदिँदै आएको छु, तर धेरै महिला पीडा लुकाउन बाध्य छन् ।’
 
माझी समुदायका बच्चाहरूमा कुपोषणको समस्यासमेत देखिएको छ । जिल्ला अस्पताल पाँचथरमा कार्यरत स्टाफ नर्स सङ्गीता सुब्बाका अनुसार २० वर्षभन्दा कम उमेरका महिलामा प्रजनन् अङ्गहरूको विकास भइसकेको हुँदैन । त्यसैले २० वर्ष नपुगी गर्भवती हुँदा आमा र पेटभित्रको बच्चा दुवैलाई विभिन्नखाले खतराको सम्भावना रहन्छ । त्यस्तै भविष्य बनाउने र पढ्ने उमेरमा विवाह गरी व्यवहारिक बोझ सम्हाल्नुपर्दा मानसिक पीडाको शिकार बन्नुपर्छ ।
 
तर माझी महिला भने यी सबैकुराबाट बेखबर छन् । फलस्वरूप २० वर्ष नछिचोल्दै आमा बन्ने क्रम बढ्दो छ । माझीटारसँगै तमोर नदी किनारको हिलिहाङस्थित पिनासीघाट, कुम्मायक गाउँपालिकास्थित लुम्बुघाट, सिमराघाटलगायतका क्षेत्रमा माझी समुदायको बसोबास छ । यी सबै क्षेत्रमा बालविवाहको अवस्था उस्तै रहेको बताइन्छ । माझी समुदायमा विकराल समस्याको रूपमा हुर्किरहेको बाल विवाहलाई न्यूनीकरण गर्न उनीहरूको चेतनास्तर उकास्नु पहिलो आवश्यकता रहेको सामाजिक अभियन्ताहरू बताउँछन् ।