इटहरी । नेकपाको सुनसरी जिल्ला नेतृत्व आफ्नो दाउमा पार्न नेकपाका नेताहरूबीच दौडधुप शुरु भएको छ । नेकपा सुनसरीले पूर्ण नेतृत्व पाउन नसकेको बेला आन्तरिक निर्वाचनको तयारीसँगै सुनसरीमा आफ्नो पक्षमा नेतृत्व ल्याउन नेताहरूबीच दौडधुप शुरु भएको हो । पार्टी समायोजनपछि सुनसरी जिल्लामा कसलाई नेतृत्व दिने भन्ने विषयमा अहिले ‘रस्साकस्सी’ नै चलेको छ ।
जिल्ला अध्यक्षका दाबेदारहरूले अध्यक्षद्वय प्रचण्ड र केपी ओलीसँग लबिङ गरिरहेका छन् । पार्टीको जिल्ला अध्यक्ष बन्ने बलियो दाबेदारको रूपमा पूर्व एमालेका जिल्ला अध्यक्ष तथा पूर्वसांसद् रेवती भण्डारी र एमालेका तत्कालीन सुनसरी अध्यक्ष रमेश बस्नेत छन् । तत्कालीन माओवादीका नेता मुक्साहाङ मेन्याङ्बो र शिव डाँगी प्रमुख दाबेदार हुन् । जिल्लाको नेतृत्व लिन अन्य नेताहरू दौडधुपमा लागे पनि बलियो उम्मेदवारको रूपमा ४ जनालाई लिएको नेकपा स्रोतले बताएको छ । एमालेको बलियो जिल्ला सुनसरीमा पूर्व माओवादीसँग समीकरण भएसँगै पूर्व एमाले र पूर्व माओवादीहरू नेतृत्व आफ्नो पक्षमा पार्न पार्टीका नेताहरूसँग छलफल र भेटघाटमा व्यस्त छन् । पार्टी समायोजन भएपछि पनि एमाले र माओवादीबीच राम्रो सम्बन्ध नबनेका कारणले जिल्ला अध्यक्ष को बन्ने भन्ने विषयमा ठूलै ‘पावर’ लगाउनुपर्ने अवस्था रहेको पूर्व एमालेका एक नेताले नाम नछाप्ने शर्तमा भने ।
एमालेको राम्रो प्रभाव भएको सुनसरीमा अध्यक्ष एमालेलाई नै दिनुपर्ने एमाले पक्षको दाबी छ । सुनसरीमा माओवादीको जनाधार त्यति राम्रो नभएको कारण नेतृत्व अहिले नै दिइहाल्ने पक्षमा एमाले छैन । प्रदेश एकका जिल्लाहरूको समीकरणअनुसार सुनसरीमा माओवादीको भागमा अध्यक्ष पर्ने माओवादीका नेताहरू बताउँछन् । पूूर्व माओवादीका नेता शिव डाँगीले आफू अध्यक्षको लागि बलियो दाबेदार रहेको बताए । आफू जिल्ला अध्यक्ष भए पार्टीलाई एकढिक्का बनाएर लैजाने उनको भनाइ थियो । उनीसँगै माओवादीबाट मुक्साहाङ मेन्याङ्बोले पनि दाबेदार गर्दै आएका छन् । यता पूर्व एमाले सुनसरी अध्यक्षसमेत रहेका रेवती भण्डारीले भने अहिले आफूलाई साथीहरूले अध्यक्ष बन्नु पर्छ भनेर लागेको कारण नेतृत्व लिन तयार भएको बताए । तर आफू मरिहत्ते नगरी लागिरहेको उनले बताए । ‘अन्य साथीहरू पनि जिल्ला अध्यक्षका लागि लागेछनु, मैले त पहिला पनि अध्यक्ष सम्हालेकै हो, सबैले हुनुपर्छ भनेकोले पछि हट्न सकेको छैन’ –उनी भन्छन् ।
केन्द्रसम्म पहुुँच भएका नेताहरूले अध्यक्षको लागि दाबी गरिरहँदा नेकपा प्रदेश एकका प्रमुख रहेका भीम आचार्यले भने आफूलाई अध्यक्ष बनाउनुप¥यो भन्दै कोही नआएको बताउँछन् । सहमतिको आधारमा नेतृत्व चयन हुने भन्दै आचार्यले भने, ‘प्रचण्ड अमेरिकाबाट नेपाल फर्केलगत्तै सहमति भएर नेतृत्व टुङ्गो लाग्नेछ । हामी अहिले सुनसरीको नेतृत्वको लागि छलफल गरिरहेका छौं ।’ एमालेबाट अध्यक्षका दाबेदार रेवती भण्डारी र रमेश बस्नेत सुनसरी जिल्लाको नेतृत्व लिइसकेका नेता मानिन्छन् । दुवैले पार्टी अध्यक्षजस्तो पदको राम्रो अनुभव सम्हालेकाले उनीहरू जिल्लाका परिचित नेता हुन् । एमाले तर्फबाट १ नम्बर प्रदेशका इञ्र्चाज भीम आचार्यले दुईमध्ये एक जनाको नाम सिफारिस गर्नेछन् । जसमा आचार्य रमेश बस्नेतको पक्षमा उभिएका छन् । एमालेभित्रको दुई गुटका कारण अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा मतान्तर हुनसक्ने बताइएको छ ।
माओवादी तर्फबाट अध्यक्षको लागि मुक्साहाङ मेन्याङ्बो र शिव डाँगीको राम्रो सम्भावना रहेको बताइएको छ । मुक्साहाङ यसअघि माओवादीका सुनसरी इञ्र्चाज थिए भने शिव पार्टीको जिल्ला उपाध्यक्षमा मनोनित थिए । पछिल्लो समयमा शिव पार्टीको अध्यक्ष हुनसक्ने सम्भावनासमेत बढेको नेकपाकै नेताहरू बताउँछन् । यता अन्य १ सय ६५ जिल्ला कार्यसमितिमध्ये पूर्वमाओवादीबाट ६७ सदस्य र पूर्व एमालेबाट ९८ जनालाई मनोनित गर्ने सहमति भइसकेको नेता शिव डाँगीले बताए ।