तेह्रथुम/ तेह्रथुमको आठराई गाउँपालिकाले व्यवसाय गर्न चाहने युवाहरूलाई तालिम र लगानी गरिदिएर स्वरोजगार बनाउने योजना ल्याएको छ ।
गाउँपालिकाले पाँच वर्षभित्रमा सवै युवाहरूलाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । ‘केही गर्छु भन्ने जोस र जाँगर भएका युवाहरूलाई निःशुल्क तालिम र अनुदानमा रकम उपलब्ध गराइनेछ ।’ गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बू (विष्णु विक्रम) भने, ‘युवालाई स्वरोजगार बनाउने गाउँपालिकाले गतवर्ष १० लाख र यो वर्ष पनि १० लाख रकम विनियोजन गरेको छ । यो रकमले नपुगे निर्णय गरेर बाँकी रकम पनि विनियोजन गर्नेछौं ।’
नेपालमा अवसर नपाएर विदेश जान बाध्य भएका युवाहरूलाई गाउँमै स्वरोजगार बनाउन यस्ता योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ । स्थानीयवासीहरूले व्यवसायिक योजना बनाएर व्यवसाय शुरु गरेमा पहिलो पटक २ लाख रुपैयाँसम्म निशुल्क प्रदान गर्ने अध्यक्ष लिम्बूले बताए । जिल्लाको कर्णाली भनेर चिनिएको आठराई क्षेत्रलाई पाँच वर्षभित्रमा जिल्लाकै सबैभन्दा सुगम, सक्षम, स्वरोजगार, आत्मनिर्भर र समृद्ध बनाउने लक्ष्य लिएको उनले बताए ।
प्रधानमन्त्री केपी ओली, काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला, कम्युनिष्ट नेता राधाकृष्ण मैनाली, सिपी मैनालीलगायतका नेता जन्मिएको यो गाउँपालिका विकासमा भने अन्य पालिकाभन्दा पछि छ । जिल्लाकै कर्णाली भनेर चिनिएको यो गाउँपालिकामा लामो समयदेखि विकासका गतिविधि अत्यन्तै न्यून छन् । विकास नहुँदा स्थानीयहरू निराश छन् । तमोरको तटीय क्षेत्रमा पानीको समस्या छ । अध्यक्ष लिम्बूले भने, ‘विकासका पूर्वाधार निर्माण गरेर जनताका अभाव र आकांक्षा कसरी पूरा गर्न सकिन्छ भन्ने सूक्ष्म योजना बनाएको छु ।’
गाउँमा कस्ता योजनाले छिटो भन्दा छिटो विकास पुर्याउन सकिन्छ भनेर अध्ययन गर्ने काम भैरहेको गाउँपालिकाले जनाएको छ । विकास बजेटलाई जनताका चाहना र आवश्यकताका आधारमा मात्र खर्च गर्ने निर्णय गरिएको छ । जनताको सेवासँग जोडिएका हरेक योजनालाई घरदैलोमै पु¥याउने प्रयासमा आफूसहितको टिम खटिरहेको अध्यक्ष लिम्बू बताउँछन् । विशेषगरेर सडक, खानेपानी, पर्यटकीय विकास र जडीबुटी खेती विस्तारमा गाउँपालिकाको ध्यान केन्द्रित रहेको उनले बताए ।
प्राथमिकताका आधारमा विकासका कामलाई वर्गीकरण गरेर अगाडि बढाएको गाउँपालिकाले कृषि र पर्यटनमा गुरुयोजना नै बनाएर काम गरिरहेको छ । सुख्खा क्षेत्रमा कसरी कृषि गतिविधि बढाउने भन्ने विषयमा अध्ययन थालेको अध्यक्ष लिम्बुले बताए । पहिलो वर्षमा डिप बोरिङबाट पानी निकालिएकोले केही सहज भएको उनले बताए ।
गाउँपालिकाको तमोर नदीको पानीलाई व्यवस्थापन गरेर सिंचाइ, जलविद्युत् र पर्यटनको विकास गर्ने योजना पनि रहेको छ । जडीबुटी, पर्यटन र कृषि व्यवसायको बृहत् विकासमा आफ्नो ध्यान केन्द्रित गरेको अध्यक्ष लिम्बूले पत्रकार सम्मेलनमा बताए । यसैगरी स्वास्थ्य, शिक्षा, विजुलीलगायतका विकासका पूर्वाधारलाई पनि प्राथमिकतामा राखेको उनको भनाइ छ ।
जमिनमुनिबाट बोरिङ गरेर पानी निकालेर सुख्खाग्रस्त क्षेत्रमा सिंचाइ गर्ने प्रविधि भित्र्याउनेतर्फ पनि गाउँपालिकाको ध्यान गएको छ । आकाशे पानी सङ्कलन गर्ने योजना पनि बनाएको उनले बताए । उनले भने, ‘मेरो पाँच वर्षे कार्यकालमा सबै वडामा सडक, सबै किसानका खेतबारीमा सिंचाइ सुविधा, पशुपालनमा लाग्न चाहने किसानलाई त्यहीअनुसार सुविधा, सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याएर घर–घरमा खानेपानी र सिंचाइको सुविधा पु¥याएरै छाड्छु ।’
































