धनकुटा / छथर–जोरपाटी गाउँपालिकाले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा झण्डै ५० प्रतिशत विकास खर्च गरेको छ ।
दोस्रो वार्षिकोत्सवको अवसरमा प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले आ.व.०७५/०७६ मा कार्यालयले सम्पादन गरेको बजेट तथा कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २८ करोड बजेटमध्ये १३ करोड बजेट कार्यान्वयन भएको जानकारी दिए । प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक उत्सव समारोहमा गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत दाहालले आ.व.०७५/०७६ मा आन्तरिक आय २५ लाख २० हजार ४ सय १० रुपैयाँ उठेको बताए ।

चालु आ.व.मा चालुतर्फ १७ करोड ४२ लाख १० हजार, पुँजीगततर्फ १० करोड ९८ लाख, २५ हजार गरी जम्मा २८ करोड ४० लाख ३५ हजार रुपैयाँ विनियोजन गरेको स्पष्ट पारे ।
चालुतर्फको खर्च १० करोड ९३ लाख ५३ हजार ४ सय ४० रुपैयाँ र पुँजीगततर्फ २ करोड ३८ लाख ४८ हजार ५ सय ५३ रुपैयाँ खर्च भएको बताए । गाउँपालिकाले सम्पादन गरेका योजना तथा कार्यक्रम, न्यायिक समिति र भूकम्प पुनःनिर्माणअन्तर्गत भएका प्रगति विवरणसमेत प्रस्तुत गरे ।

सो अवसरमा गाउँपालिकालाई जग्गा दान गर्ने जग्गादाताहरू सिद्धिमान तामाङ, स्व. कीर्तिमान तामाङकी पत्नी गङ्गामाया तामाङ, इमानसिंह लिम्बू, निर्मल पुलामी, भेषबहादुर राना, छविलाल राना, इन्द्रबहादुर पुलामी, विन्दमाया पुलामी, लोकन्द्र चापागाईं, नेत्रप्रसाद चापागाईं र इन्द्रकुमारी तामाङलाई सम्मान गरिएको छ । आयोजित समारोहमा सम्पन्न विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि राजेन्द्र राई, विशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख टङ्क चौहानले पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरेका थिए ।