दमक/ बजेट अभावमा धेरै योजनाहरु अघि बढ्न सकेका छैनन् । तर झापाको गौरादह पोखरीका लागी प्रदेश सरकारले एकै आर्थिक वर्षमा एउटै कामका लागी तीन शिर्षकमा बजेट बिनियोजन गरेको छ ।
गौरादह नगरपालिकामा रहेको पोखरीका लागि चालु आर्थिक वर्षमै पोखरी व्यवस्थापन, गौरादह ऐतिहासीक पोखरी संरक्षण, र गौरादह ऐतिहासिक पर्यटकीय पोखरीको पूर्वाधार निर्माण शिर्षकमा एक÷एक करोड गरी जम्मा तीन करोड रुपैँया बिनियोजन गरेको पाइएको छ ।
एक नम्बर प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको गृह नगर तथा निर्वाचन क्षेत्र समेत रहेकोले प्रदेश सरकारले एउटै कामका लागी तीन वटा शिर्षकमा बजेट बिनियोजन गरेको हुन सक्ने स्थानीयहरुको भनाई छ ।
गौरादह नगरपालिकाका वडा नं १ का वडाध्यक्ष नगेन्द्र भण्डारी एउटै कामका लागि तीन शिर्षकमा बजेट बिनियोजन भएपछि पोखरीको व्यवस्थापन र संरक्षण गर्न सहज भएको बताउँछन् ।
आन्तरिक मामीला तथा कानुनमन्त्री कार्कीका निजी सचिव कमल पौडेल प्रदेश सरकारले पहिलो चरणमा ३ करोड रुपैयाँ रकम बिनियोजन गरेको र आगामी वर्षपनि बजेट छुट्याई प्रदेशकै नमुना पोखरी क्षेत्रको रुपमा विकास गराउने लक्ष्य रहेको बताउँछन् । भन्छन्, ‘मन्त्री ज्यूको गृह नगर समेत रहेकोले पनि यो पोखरी प्रदेश सरकारको अलिक बढि प्राथमीकतामा परेको हो ।’
पोखरीलाई पर्यटकीय स्थल बनाउन गूरु योजना बनाइ सकिएको र गूरु योजना अनुसार सम्पन्न गर्न करिव ३५ करोड रुपैँया आवश्यक पर्ने पोखरी व्यवस्थापन समितीका अध्यक्ष दिपक कार्कीले बताए । गूरु योजना अन्तर्गत पोखरीको बिचमा एउटा पुल बनाईने छ । पुलको मुनी पोखरीबाट बिभिन्न प्रकारका वोर्टहरु सञ्चालन हुने छन् । पोखरीको बिचमा मन्दीर वा भ्यू टावर बनाईने छ ।
१२ बिगाह क्षेत्रफलमा फैलिएको पोखरी क्षेत्रमा अन्य पोखरी पनि छन् । तर अहिले पोखरी प्रवेश गर्ने बिभिन्न बाटाहरुमा फोहोर थुपारिएका छन् ।
































