ताप्लेजुङ/ पूर्वकै प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको मन्दिरमा दर्शनार्थीहरूले चढाएका सिक्कालाई धमाधम धोई पखाली गरी सफा गर्ने काम भइरहेको छ ।
श्रद्धालु दर्शनार्थीहरूले भेटीका रूपमा चढाएका सिक्काहरू जिल्ला सदरमुकाम फुङ्लिङमा ल्याएर अहिले सफा गर्ने काम भइरहेको हो । सिक्कालाई अहिले दैनिक ९ जनाले धुने र सफा गर्दै सुकाउने कार्य गरिरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले बताए । ‘अहिले धमाधम धोई पखाली गर्ने काम भइरहेको छ ।
यस कार्यमा दैनिक ९ जना खटिएका छन्’ कार्यकारी अधिकृत भट्टराईले भने, ‘केही सिक्का भने साट्ने काम भइरहेको छ ।’ हालसम्म २ लाख ८२ हजार बराबरको सिक्का भने सटही गरिएको बताइएको छ । एनएमबी बैङ्क, नेपाल बैङ्क, सेन्चुरी बैङ्क तथा विभिन्न मठमन्दिर र गुम्बाहरूमा सटही गरिएको हो । अझै पनि धोएर थन्क्याएको नै ७५ क्विण्टल सिक्का साट्न बाँकी छ ।
उता मन्दिरमा पनि १० क्विण्टल जति जम्मा भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी नवीन निरौलाले जनाए । पाथीभरामा सङ्कलन गरिने भेटी स्वरूपको नगद (कागजी रुपैयाँ) प्रत्येक साता ल्याउने गरिए पनि सिक्का भने एक सिजनमा एक पटक मात्र ल्याउने गरिन्छ । धोएर थन्क्याएको सिक्कालाई पनि साट्ने तयारी भएरहेको कार्यकारी निर्देशक भट्टराईको भनाइ छ । धोएर राखिएको सिक्कालाई ताप्लेजुङ शाखामार्फत् एनएमबी बैङ्कसँग साट्ने सम्झौता भएको छ ।
भट्टराईका अनुसार चाँडै नै ती सिक्का पनि सटही हुनेछन् । एक पाथी सिक्कामा करिब २२ किलो हुन्छ । दर्शनार्थीको भीड हुने बेलामा दैनिक दुई क्विण्टलभन्दा बढी सिक्का जम्मा हुने कर्मचारीहरू बताउँछन् । मौसम राम्रो हुँदा रामनवमी पर्वको समय फागुनदेखि वैशाख र दसैंको बेला असोजदेखि कात्तिकभर धेरै भीड लाग्छ ।
अधिकांश तीर्थयात्रीले सिक्का लिएर जाने र भालुगौंडेदेखि नै चढाउने गर्छन् । पछिल्ला वर्ष बोका पाठापाठी नलैजाने र पाथी पैसा लगेर चढाउनेको संख्या बढेको छ । पाथीभरामा पाथीले भरेर चढाए मनको इच्छा पूरा हुने विश्वासले तीर्थयात्रीहरूले सिक्का चढाउन थालेका हुन् । मन्दिरका पुजारी हिजोआज माना र पाथीले भरेर भेटी चढाउने प्रचलन बढेको बताउँछन् ।
पुराना सिक्का र विदेशी सिक्का के हुन्छ ?
मन्दिरमा चढाइएका सिक्काहरूमा नेपालका पुराना र विदेशी सिक्काहरू पनि छन् । राजा त्रिभुवनको पालाको २००३ सालको २ पैसा, ४ पैसा, ५ पैसालगायतका सिक्कासमेत फेला परेको छ । यस्तै विदेशी सिक्कासमेत भेटिएका छन् । अहिलेसम्म १५ क्विण्टल विदेशी सिक्का धोइसकिएको छ । विदेशी सिक्कामा सबैभन्दा बढी भारतीय सिक्का रहेका छन् । ती सिक्काहरूलाई भने भारतमै साट्ने पहल भइरहेको कार्यकारी निर्देशक भट्टराई बताउँछन् । सीमाका बजारसम्म पु¥याएर भए पनि भारतीय सिक्का साटिने भएकाले त्यसको पहल भइरहेको तर निष्कर्षमा भने पुग्न नसकेको उनले बताए ।
साउनयता करिब ७० लाख भेटी सङ्कलन
चालु आर्थिक वर्षको फागुन महिना सम्ममा पाथीभरामा झण्डै ७० लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिले दिएको जानकारीअनुसार फागुनसम्ममा ६९ लाख ५ हजार ७० रुपैयाँ बैङ्कमा जम्मा भइसकेको छ । अन्य पनि गणना गर्दै जम्मा गर्ने काम भइरहेको छ । सातामा एक पटक पाथीभराबाट ल्याई जिल्ला समन्वय समितिको भवनमा गणना साथै सटहीको काम अहिले पनि भइरहेको छ । भेटी गणना गर्नको लागि दैनिक ९ जना खटिएका छन् । उनीहरूलाई ज्यालादारीमा काम लगाइएको कार्यकारी निर्देशक भट्टराईले बताए ।
































