दमक/ झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ मा पर्ने पाथीभरा आधारभूत विद्यालयका शिक्षक बलिराम तामाङ शिवसताक्षी नगरपालिकाको कार्यालयमा भेटिए । 
 
उनी हातमा फायल बोकेर विभिन्न कोठामा चहारिरहेका थिए । विद्यालयको भौतिक विकास पूर्वाधारसँग सम्बन्धित काम लिएर आएका तामाङ घरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर अधिकारीको कार्यकक्षमा पुग्थे त घरि वरिष्ठ कार्यक्रम निर्देशक महेश लामिछानेको कार्यकक्षमा । विद्यालयको सामान्य मर्मत–सम्भार, फर्निचर र विद्युत्का लागि नगर र वडाले १ लाख ५२ हजार रुपैयाँ उनी कार्यरत विद्यालयलाई छुट्याएको थियो ।
 
काम सम्पन्न गरेर त्यसको भुक्तानी लिन नगरपालिका आएका तामाङले नगरमा शिक्षा शाखा अधिकृत नहुँदा समस्या भोग्न बाध्य भएको बताए । ब्लाष्टसँगको कुराकानीमा उनले आफ्नो शाखामा कर्मचारी नहुँदा विभिन्न कोठामा गएर एउटै कुरा पटक–पटक राख्नुपरेको बताए । उनले भने, ‘ती विषयगत कर्मचारीसमेत नभएकोले धेरै सोधीखोजी गर्छन् । काम गराउनै असहज भयो ।’
 
शिवसताक्षी नगरपालिकाका  अधिकांश विषयगत शाखामा खाली कुर्सीहरू मात्र छन् । विषयगत शाखा प्रमुखहरू नहुँदा सेवाग्राहीले अनेकन झन्झट बेहोर्नु परेको छ । नगरमा शिक्षा, कृषि, वातावरण, पशु शाखामा अहिलेसम्म कुनै पनि अधिकृत पठाइएको छैन । यसरी पर्याप्त कर्मचारीको अभावमा नगरले दिने सेवा चुस्त हुन सकेको छैन । नगरले अन्य शाखाबाट कर्मचारी खटाएर काम गराउनु पर्ने अवस्था छ । 
 
विषयगत कर्मचारी अभावले सङ्घीय सरकारले शाखागत रूपमा पठाएको बजेट कार्यान्वयन गराउन र नीतिगत निर्णय गर्नसमेत अप्ठ्यारो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर अधिकारीले बताए । उनले भने, ‘सबै शाखाका लागि बजेट छुट्याइएको छ, निर्देशिका बनाइएको छ तर त्यसको सही तरिकाले कार्यान्वयन गराउन सकिएको छैन ।’ 
 
निर्देशिका बनाइएको भए पनि ती विषयसँग सम्बन्धित नगरको आफ्नै ऐनसमेत बनाउनु पर्ने हुन्छ तर विषयगत अधिकृतहरू अहिलेसम्म नपठाइदिँदा नीति निर्माणमा समेत असर परेको छ । नगरमा आवश्यक कर्मचारीको माग पटक–पटक गरिएको थियो । तर पछिल्लो समय कर्मचारी समायोजनका कारण नगरमा काम गरिरहेका कतिपय कर्मचारी अन्यत्र गए । समायोजनमा परेर यो नगरमा भने कोही पनि कर्मचारी आइनपुगेको नगरकी उपप्रमुख भोजकुमारी नेपालले बताइन् । उनले भनिन्, ‘कृषि, पशु, शिक्षालगायत अन्य शाखामा अधिकृत नहुँदा सम्बन्धित क्षेत्रका सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।’
 
कर्मचारीको अभावका कारण सिर्जित समस्याका बारेमा सङ्घीय सरकारमा अवगत गराइएको भए पनि अहिलेसम्म त्यसको सुनुवाइ नभएको उनले गुनासो गरिन् । झापामा शिवसताक्षी नगरपालिकासँगै, गौरादह नगरपालिका, कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिकालगायत स्थानीय तहले पर्याप्त कर्मचारी अझै पाउन सकेका छैनन् ।