इटहरी/ भोजभतेरको व्यवस्थापन गर्ने ‘टेन्ट’ र ‘क्याटरिङ’ को व्यवसायप्रति धेरैले चासो दिएको पाइदैन । इटहरीका ३२ वर्षीय राजकुमार कार्की भने यही व्यवसायबाट १२ वर्षमा करोडपति बनेका छन् ।
 
भोजपुरको विकट गाउँमा जन्मिएका कार्की अहिले इटहरीको व्यवसायिक क्षेत्रमा जमिरहेका छन् ।  २०६० सालमा इटहरी आउँदा उनको आर्थिक अवस्था राम्रो थिएन । खानलाउन समेत धौं–धौं थियो । खाना मात्र पाउने सर्तमा उनले करिब एक वर्ष इटहरीको रोयल रिसोर्टमा तलबबिनै काम गरे । तर अहिले उनको व्यवसायमा ४ करोडभन्दा बढीको लगानी पुगिसकेको छ । तीन दर्जनभन्दा बढीलाई रोजगारी दिएका छन् । उनी भन्छन्, ‘मेहनतले नै मानिसलाई सफलतामा पुर्याउँदो रहेछ ।’
 
पहिले त उनीसँग व्यवसायमा लगानी गर्ने पैसा पनि थिएन । २०६४ सालमा विवाह गर्दा दाइजो बापत पाएको २० हजार रुपैयाँ उनले व्यवसायमा लगाए । कतिले उनलाई बिदेश जाने सल्लाह दिएका थिए तर बिदेशको चक्कर छोडेर टेण्ट र क्याटरिङ व्यवसाय थालेका उनी अहिले खर्च कटाएर महिनाको पाँच लाख कमाउँछन् । शुरुका दिनमा इटहरीमा आएर उनले राजनीतिमा पनि हात हालेका थिए । जनता क्याम्पसमा अध्ययन गर्दा स्ववियुको राजनीति गरे ।
 
२०६२ मा सर्वाधिक मत ल्याएर स्ववियु सचिव बने । राजनीति छोडेर व्यापारमा लागेका उनी अहिले राजनीतिभन्दा टाढा छन् । २०६४ सालमा साझेदारीमा सुनसरी साउण्ड सिस्टम चलाउन शुरु गरेका कार्कीलाई त्यतिबेला साथीहरूले थेरै पैसामा पनि नपत्याएको तीतो अनुभव छ । अझ कतिपयले ‘क्याटरिङ’ र ‘टेण्ट’ को काम मधेसी समुदायले गर्ने पेशा भन्दै होच्याउने र निरुत्साहित गर्ने काम पनि गरे । तर उनले हिम्मत हारेनन् र निरन्तरता दिए । उनी भन्छन्, ‘अहिले साथीभाइले मात्र हैन, बैङ्कले पनि करोड दिन तयार छ ।’ 
 
शहरमा भोजभतेर गर्ने ठाउँको अभावसँगै क्याटरिङ व्यवसाय फस्टाउँदो छ । पछिल्लो समयमा क्याटरिङ व्यवसाय बढेर दोब्बर पुगेको उनी बताउँछन्  । इटहरीमा खुला ठाउँको अभावसँगै क्याटरिङको माग बढ्दै गएकाले व्यापार राम्रो हुने गरेको उनी बताउँछन् । उनले विवाहको सिजनमा मासिक ४० वटासम्म पार्टी सञ्चालन गर्ने गरेका छन् । अफसिजनमा पनि महिनामा २० वटासम्म पार्टी हुने गरेको उनी बताउँछन् । खासगरी मङ्सिर, माघ, फागुन, वैशाखजस्ता महिना क्याटरिङको मुख्य व्यापार सिजन हो ।
 
आफ्नो क्याटरिङमा खानाको गुणस्तर र सेवामा विशेष ध्यान दिएकाले दिनको २ वटासम्म सञ्चालन गर्नु परेको उनको भनाइ छ । कार्कीले इटहरीमा रहेका दुर्गा पार्टी प्यालेस, लायन्स क्लबको भवनमा लामो समयदेखि क्याटरिङ चलाउँदै आएका छन् । उनी भन्छन्, ‘राम्रो खाना र राम्रो व्यवस्थापन गर्न सक्यो भने  विश्वास बढ्छ, त्यसपछि व्यवसाय फस्टाउँछ ।’