ताप्लेजुङ/ पूर्वकै प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा आगामी चैत्र १ गतेदेखि मदिरा बिक्रीवितरण निषेध गरिने भएको छ ।
 
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा आइतबार बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । चैत्र १ गतेदेखि भालुगौँडे, काफ्लेपाटी, माथिल्लो फेदीलगायतका क्षेत्रमा मदिरा बिक्रीवितरण गर्न नपाइने साथै बिक्री गरेको पाइए प्रशासनले नियन्त्रणमा लिने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
 
‘पाथीभरा क्षेत्रमा आउने दर्शनार्थीहरूले पनि मदिरालाई नियन्त्रण गर्ने सुझाव दिएका छन् । हुन पनि धार्मिकस्थलमा मदिरा बिक्री वितरण राम्रो होइन, त्यसैले मदिरा निषेध गर्न लागेका हौँ’ –प्रजिअ भण्डारीले भने । मदिरा बिक्रीवितरणमा रोक लगाएपछि भक्तजनहरूको उपस्थिति पनि बाक्लिने प्रशासनको बुझाइ छ । यसैबीच पाथीभरा क्षेत्रमा चल्ने सवारी साधनमा पाथीभराको भजन, मूर्ति र स्टिकर अनिवार्य गरिने भएको छ । 
 
फागुन ३० गतेदेखि प्रदेश नं. १ का सवारी चालक तथा सह–चालकलाई पोसाक अनिवार्य गर्ने अभियानको उद्घाटनकै अवसरमा भजन, मूर्ति र स्टिकर अनिवार्य गर्न लागिएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले बताए । चैत्र १ गतेपछि सवारी चालकहरूले अनिवार्य पाथीभराको भजन गाडीमा बजाउनु पर्नेछ । साथै पाथीभराको सानो मूर्ति र स्टिकर पनि सवारी साधनमा राख्नुपर्ने गरी यातायात व्यवसायीहरूसँग पनि सहमति भएको डिएसपी थापाले जानकारी दिए । 
 
‘प्रदेश नं. १ भरि फागुन ३० गतेदेखि सवारी चालक तथा सह–चालकलाई अनिवार्य पोसाक लगाउने अभियानको सुरुवात गरिँदैछ । सोही अवसरमा ताप्लेजुङको पाथीभरा क्षेत्रमा चल्ने सवारी साधनमा देवीको भजन तथा मूर्ति र स्टिकर टाँस्ने कार्यक्रमको पनि उद्घाटन गर्न लागिएको हो’ डिएसपी थापाले भने, ‘यसले पाथीभरा दर्शनका लागि आउने दर्शनार्थीलाई पनि राम्रो हुने भयो । सवारी चालकहरू पनि जिम्मेवार बन्ने भए ।’ 
 
सवारी साधनमा बजाउने भजनसहितको पेनड्राइभ भने पाथीभरा क्षेत्र विकास समितिले प्रदान गर्नेछ । जसका लागि सवारी चालकहरूले सवारी साधनको ब्लु–बुकको प्रतिलिपिका साथै फागुन ३० गते गरिने कार्यक्रममा सम्पर्क गर्नुपर्ने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले बताए । ‘पहिलो चरणमा हामी निःशुल्क भजनसहितको पेनड्राइभ उपलब्ध गराउँछौँ’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘जसका लागि सवारीसाधनको ब्लु–बुकसहित उपस्थित हुनुपर्छ ।’ यता ताप्लेजुङमा सञ्चालित होटलहरूमा पनि पाथीभराको भजन र मूर्ति अनिर्वाय गरिएको बताइएको छ ।