सिरहा/ सिरहा जिल्लामा साउनदेखि माघ महिनासम्म ८१ वटा सडक दुर्घटनामा ६२ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ८० जना घाइते भएका छन् । 
 
चालु आर्थिक वर्ष २०७५/०७६ को साउनदेखि माघ महिनासम्म भएको उक्त दुर्घटनामा ५३ जना पुरुष, ६ जना महिला र १ जना बालकको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख इन्स्पेक्टर मिलन बस्नेतले जानकारी दिए । १४ वटा बस, ६८ वटा मोटरसाइकल र १६ वटा जिप कार दुर्घटनामा परेको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
 
आर्थिक वर्ष २०७२/०७३ मा २ सय ५५ वटा सवारी साधन दुर्घटना हुँदा ५७ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा परी ४ सय ७५ जना घाइते भएका थिए । त्यसैगरी २०७३/०७४ मा सवारी दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो भने ५ सय ८१ जना घाइते भएका थिए । गत आर्थिक वर्ष २०७४/०७५ मा २ सय ३९ सवारी साधन दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी ३ सय ८४ जना घाइते भएका थिए ।
 
दुर्घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । सवारी दुर्घटना बढ्दै जान थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले ट्राफिक नियम उल्लङ्घन नियन्त्रण गर्न चेकजाँच तथा छड्के जाँचमा कडाइ गरेको बताउँछन् । सवारी दुर्घटना न्यूनीकरण तथा नियन्त्रणका लागि सडकमा विभिन्न किसिमका चेकजाँचदेखि विद्यालय कलेजसम्म ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिरहेको प्रहरी इन्स्पेक्टर बस्नेतले बताए ।