पथरी/ रानोलाई मौरीले नछोडे झैं मौरीको घारलाई पनि कहिले छोडेनन् मोरङको लेटाङ–९ का इमनाथ पोख्रेल र भीम आङ्देम्बेले । उनीहरूले १२ वर्ष भयो मौरी पालन व्यवसाय शुरु गरेको । उनीहरूले शुरुमा पाँच घारबाट शुरु गरेको मौरीपालन अहिले २ सय ५ मौरीको घार पाल्दै आएका छन् ।

मौरीको मह बेचेरै पोख्रेल र आङ्देम्बेले सबै खर्च कटाएर वार्षिक १२ देखि १३ लाखसम्म आम्दानी गर्ने उनीहरूको तर्क छ । गतवर्ष मात्र ५ हजार केजी मह उत्पादन गरेको उनीहरू बताउँछन् । उनीहरूले विदेशबाट ल्याएको मेलीफेरा मौरी र नेपालको सेरेना जातका मौरी पालेका छन् । मेलीफेरा जातका मौरी तराई क्षेत्रमा र सेरेना जातका मौरी पहाडी क्षेत्रको पाँचथरमा आधुनिक तरिकाबाट ९५ घार राखेर पालेको उनीहरू बताउँछन् । इमनाथ पोख्रेलले कृषि मन्त्रालयमा मनकामना मौरीपालन केन्द्र र भीम आङ्देम्बेले घरेलु उद्योगमा फुङ्सेन मौरीपालन केन्द्र दर्ता गरेर संयुक्त रूपमा व्यवसाय गर्दै आएका छन् ।

पोखरेल र आङ्देम्बेद्वय मौरीपालक किसान हुन् । यसैले उनीहरू फूल फुल्ने बाली र मौरीको लागि उपयुक्त स्थानको खोजी गरी मौरी चरनमा लाने गर्छन् । उनीहरूको व्यवसाय नै अर्काको बारीमा लगाइएको तेलहन खेती तथा वनस्पतिका फूलहरूबाट मौरीलाई मह सङ्कलन गर्न लगाई आफूले आम्दानी गर्नु हो ।

व्यवसायिक मौरीपालनमा लागेका उनीहरू चाँप, चिउरी, सिसौ फुल्ने समयमा जङ्गल चहारिरहेका हुन्छन् भने तोरी फुल्ने समयमा किसानका खेतबारी चहार्छन् । २०५६ सालदेखि २०६२ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा सामाजिक परिचालकको रूपमा जागिर खाएर हाल मौरीपालन व्यवसायमा पोख्रेल लागेका हुन् । ‘जागिर खाँदा भविष्य देखिनँ र व्यवसायमा लागेँ’ पोखरेल भन्छन्, ‘सँगै जागिर खाएका साथीहरू अहिले पनि स्थायी हुनुभएको रहेनछ । म नायव सुब्बासरहको तलब खान्थेँ । अहिले सचिवसरहको कमाइ मेरो छ ।’

दुई प्रजातिका मौरी पालेका उनीहरूले मौरीसहितको घारसमेत बिक्री गर्ने गरेका छन् । ‘तोरी फुल्ने सिजनमा मह धेरै उत्पादन हुन्छ’ आङ्देम्बेले भने, ‘तोरीको फूलको मह ६ सय ५० रुपैयाँ र चाँप तथा अन्य फूलको मह ७ सय ५० रुपैयाँमा बेच्ने गरेका छौँ ।’ ३ हप्तामा एक पटक मह काढ्ने गरेको उनले बताए । तोरीको फूलको रसबाट बनेको महको धेरै माग हुने गरेको आङ्देम्बेले बताए । आफूहरूले उत्पादन गरेको मह झापा, मोरङ र सुनसरीमा धेरै खपत हुने गरेको उनी बताउँछन् । उनका अनुसार पाँचथर र इलाममा पनि मह जाने गरेको छ ।

उनीहरूले अहिले कानेपोखरी गाउँपालिका वडा नंं. १ स्थित होक्लाबारीमा दुवैजना मौरी चराउन गएका छन् । उनीहरूले वार्षिक रूपमा हिउँद लागेपछि मौरीको घार गाडीमा बोकेर होक्लाबारी नै लगेर मौरी चराउने र मह उत्पादन गर्ने गर्दै आएका छन् । होक्लाबारी अत्यधिक तोरी उत्पादन गर्ने ठाउँ हो । पोख्रेल र आङ्देम्बेमात्र होइनन् होक्लाबारीमा १२ वटा समूहले मौरी चराउन ल्याएका छन् । अहिले तोरीबाली भइन्जेलमात्र होक्लाबारी राख्ने र सकिएपछि लेटाङतर्फ नै लगिने व्यवसायी पोख्रेल बताउँछन् ।
सेरेना मौरीपालनबाट गत वर्ष १२ क्विण्टल मह उत्पादन गरेका थिए ।

यस जातको महको बजारमूल्य प्रतिकेजी ९ सय ५० रहेको छ । त्यसैगरी मेलिफेरा जातको मौरीको महको बजारमूल्य तोरीबारीको ६ सय ५० र जङ्गलमा मह उत्पादन गरेको ८ सयमा बेच्ने गरेको व्यवसायी पोख्रेल बताउँछन् । एउटा मौरीको घारमा १० वटा मौरी बस्ने फ्रेम हुन्छ । मह पेल्ने मेसिनमा ८ वटा फ्रेम लगाएर ४० पटक हातले घुमाएपछि मह निस्कने गर्दछ । ८ वटा फ्रेमबाट १ चोटीमा ८ केजी मह उत्पादन हुने उनीहरू बताउँछन् । उनीहरूले मह बिक्री गर्नलाई अहिले टेम्पो पनि किनेका छन् । महोत्सव, बजार, मेलामा स्टल राखेरै मह बेच्ने गरेको उनीहरू बताउँछन् ।