इटहरी/ पूर्वी पहाडी जिल्लामा खाद्यान्न सहज आपूर्तिको लागि इटहरीमा स्थापना भएको खाद्य गोदाम अहिले नामै मात्रको हुन पुगेको छ ।
२०६६ सालसम्म भरी रहेको खाद्य गोदाम अहिले नामै मात्रको हुन पुगेको हो । कृषि खरिद–बिक्री संस्थानमार्फत् खाद्यान्न आपूर्ति गर्ने ३ ठूला भवन रहेको खाद्य गोदाम अहिले अव्यवस्थित छ । खाद्य गोदामको दुई भवन गोल्छा अर्गनाइजेशनले बजाज बाइक राख्ने शोरुम बनाएको छ भने एक भवन दोस्रो संविधान सभाको चुनावकोे बेलामा सशस्त्र प्रहरी राखे पनि अहिलेसम्म गोदाम कब्जा गर्दै आएको छ ।
सर्वसाधारणलाई सहज होस् भन्दै खोलिएको खाद्य गोदाम मास्नु कृषक र सर्वसाधारणको हितमा नभएको खाद्य गोदाम नजिकैका स्थानीय सर्वेन्द्र कटुवाल बताउँछन् । उनी भन्छन्, ‘कृषकलाई प्रोत्साहन गर्ने गोदाम व्यवस्थित गर्नुपर्नेमा यस्तो हालत छ ।’ गोदाम थोरै भाडामा लगाएको भन्दै उनले भने, ‘यसलाई सञ्चालनमा ल्याउन कर्मचारी र मन्त्रालय गैरजिम्मेवार बनेको देखिन्छ ।’
दुईवटा ठूला गोदाममा २०६६ सालयता मासिक ८५ हजार रुपैयाँ भाडामा गोल्छाले प्रयोग गर्दै आएको छ । गोदामभरि इ–रिक्सासँगै मोटरसाइकलहरू राखिएको छ । कृषकबाट सङ्कलित धान, गहुँ, चामल पहाडी क्षेत्रमा बिक्री गर्दै आएको कार्यालय नामै मात्रको हुन पुगेको बताउँछन्, अर्का स्थानीय अगुवा तथा लिम्बुवानका नेता केदार उप्रेती । ‘जुन कार्यको लागि भवन बनाएको हो, त्यो उद्देश्यमा काम नहुँदा स्थानीय आक्रोसित छन्’ –उनले भने ।
स्थानीयले पटक–पटक आवाज उठाउँदा पनि खाद्य संस्थानले सुनेको नसुन्यै गरेको उप्रेतीले बताए । धान, चामल, गहुँ राख्ने ठाउँमा सवारी साधन राखेर कार्यालय बन्द गराउन खोजिएको भन्दै उनले चाँडो सञ्चालनमा ल्याउन माग गरे । उनले भने, ‘केही वर्षअगाडिसम्म भरिभराउ हुने अन्न भण्डार गोदाम अहिले सञ्चालनमा आउन नसक्नु सरकारी पक्षको कमजोरी हो ।’
गोदाममा ०६६ सालसम्म चामल, धान, गहुँ राख्ने गरिन्थ्यो । ती खाद्यान्न पहाडलाई लक्षित गरी बिक्री गर्ने गरिन्थ्यो । ‘कारोबार कम भएर अहिले बन्द गरेका छौं’ –खाद्य संस्थान विराटनगरका सहायक शङ्कर कार्कीले भने । पहाडमा गाडी पुग्यो, व्यापारीहरूले पनि सामान पहाडतिरै पु¥याए । त्यसपछि विस्तारै कार्यालयबाट खाद्यान्न कम बिक्री भएको उनी बताउँछन् । स्थानीयले पनि गोदामको बारेमा आवाज उठाइरहेको बताउँदै उनी भन्छन्, ‘अर्को वर्षदेखि आफै कार्यालय सञ्चालनमा ल्याउनेछौं । किसानहरूसँग धान खरिद गरी सहज बिक्रीको लागि तयारी गर्नेछौं ।’
एउटा भवन सशस्त्रको कब्जामा
२०७० सालमा चुनाव हुनुअगाडि जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशनमा सशस्त्र प्रहरीले चुनाव अवधिभर बस्ने सहमतिमा गोदाम लिएको थियो । तर अहिलेसम्म नछाडेको खाद्य संस्थानले जनाएको छ । सीमित समयको लागि भन्दै सशस्त्रले लिएको गोदाम घर अहिले कब्जाजस्तै गरेको खाद्य संस्थानले आरोप लगाएको छ ।
लामो समयदेखि भवन छोड्न सशस्त्रलाई भने पनि बेवास्ता गर्दै कार्यालय व्यवस्थित गरी सशस्त्र बस्दै आएको खाद्य संस्थान विराटनगरका निमित्त प्रमुख भरतबहादुर भण्डारीले बताए । सम्बन्धित निकायलाई सशस्त्र प्रहरीले भवनमा कब्जा जमाएको बारे जानकारी गराए पनि हालसम्म नछाडिएको उनले बताए । ‘सशस्त्रले कब्जा गरेको बारे हामीले आपूर्ति मन्त्रालय र खाद्य संस्थानलाई जानकारी दिई हटाउन माग ग¥यौं तर अहिलेसम्म अटेर गरी बसिरहेका छन्’ –संस्थानका सहायक शङ्कर कार्कीले भने ।
































