नेपाली काङग्रेसका शक्तिशाली सभापति शेरबहादुर देउवा शक्तिशाली यस अर्थमा कि महाअधिवेशनबाट पास भएको विधानलाई सम्पूर्ण महासमिति सदस्यहरूको विपक्षमा जाँदै बहुमतीय प्रणालीबाट निर्णय गरी आफ्नो शक्तिको परिचय दिएका छन् । सभापति देउवा र रामचन्द्र पौड्यालले महासमितिको निर्णय सम्बोधन हुन्छ भन्दाभन्दै पनि यस्तो निर्णय गरेका छन्, पार्टी सभापति देउवाले ।
उक्त निर्णयमा नोट अफ डिसेन्ट लेख्नेहरूमा डा. शेखर परेको छैन । उनी पारिवारिक कारणले विराटनगर पुग्नुपर्ने भएर नोट अफ डिसेन्ट लेख्न अनुपस्थित रहे तापनि उनले सामाजिक सञ्जालमार्फत् आफ्नो तीव्र असन्तुष्टि जाहेर गरिसकेका छन् । तथापि यस्तो दूरगामी प्रभाव राख्ने विषय र महासमितिको निर्णय विपरीत भएको निर्णयमा उनको लिखित विचार त्यो अभिलेखमा, त्यो दस्तावेजमा नआउनु अर्थपूर्ण रूपमा हेर्न थालिएको छ । कोइराला परिवार त्यसमा पनि डा. शेखरलाई केन्द्रमा राखेर सभापति देउवाको वीरगञ्जमा आएको अभिव्यक्ति धेरै सकसबाट बाध्य भएर बोल्नुपरेको हो भनेका छन् ।
नेपाली काङ्ग्रेसमा पार्टी सभापतिका उम्मेदवारहरूमा शेरबहादुर देउवा, रामचन्द्र पौड्याल, कृष्ण सिटौला र डा. शेखर कोइरालाको चर्चा चलिरहेको अवस्थामा डा. शेखर मा नै किन खनिए यस कुराको सभापतिले मेरो विरोध गर्दै हिँडेको, पार्टीको विरोध गरेको भनाइ अगाडि सारे पनि रामचन्द्र पौड्याल र कृष्ण सिटौलाले पनि पार्टी सभापति देउवाको विरोध र पार्टी कमजोर भएको कुरामा देउवाप्रति असहमति राख्दै आएका हुन् । र पनि डा. शेखरप्रति मात्रै केन्द्रित रहेर आएको देउवाको अभिव्यक्ति देउवामा कोइराला परिवारको भय नै हो भन्नुपर्छ । गिरिजाप्रसाद कोइरालासँग पनि असहमति राखेका सभापति देउवाले पार्टी नै फुटाउनु परेको थियो भने सुशील कोइरालासँग पनि अन्तिमसम्म आफ्नो पहिचानको लागि दबाव र प्रभावको लागि निरन्तर लागिरहे र अहिले कोइराला परिवारभित्रकै डा. शेखर कोइरालामा त्यही पुनरावृत्तिको रूपमा हेरिन थालिएको छ ।
डा. शशाङ्क, सुजता र डा.शेखर कोइरालाको संयुक्त कार्यक्रम र एउटै मालामा आबद्ध भएर हामी एक भयौं भन्ने सन्देश मात्रै भने नआएर हामी तिनको सहमतिमै सभापतिको उम्मेदवार उद्घोष पनि एउटा कारक हो, देउवाको अभिव्यक्ति । रामचन्द्र पौड्याल र कृष्ण सिटौलाको उम्मेदवारीमा देउवा आफू लगभग निश्चिन्त छन ् तर डा.शेखरको भयले अहिले उनलाई समाएजस्तो छ । देउवाको अभिव्यक्तिले आफ्नो प्रतिद्वन्द्वी डा.शेखरलाई देखे र भावी सभापतिको मुख्य दाबेदारको रूपमा डा. शेखरलाई देखेरै यो अभिव्यक्ति आएको हुनसक्छ ।
यदि यसरी भाबी राजनीतिक दृश्य सभापति देउवाले देखेजस्तै हो भने डा.शेखरलाई अबको समय चुनौतीपूर्ण हुनसक्छ । वर्तमान सभापति देउवा यसरी उनको विरुद्धमा प्रस्तुत भइरहँदा आगामी १४ औं महाअधिवेशनको समयसम्म डा.शेखरले देउवाको ओज खप्न निक्कै भारी पर्छ । ७७ वटा पार्टी सभापतिहरूमा अहिले पनि देउवाकै पकडको बाहुल्यता छ र यस्तो अवस्थामा हिजो डा.शेखरको कार्यक्रममा जुन हार्दिकता देखिन्थो, त्यो अब पाउन डा.शेखर कोइरालालाई सहज भने हुँदैन ।
पार्टी सभापतिले नै यसरी प्रस्तुत भइसकेपछि जिल्ला–जिल्लाका पार्टी सभापति एवम् कार्यकर्ताहरूमा डा.शेखरको कार्यक्रमको व्यवस्थापनमा र प्रचार प्रसारमा कसरी प्रस्तुत हुन्छन् त ? यो समस्या अब डा.शेखर कोइरालाले फेस गर्नुपर्छ । नेपाली काङ्ग्रेसमा केन्द्रीय नेताहरूको जिल्लामा कार्यक्रम हुँदा ‘त्यो कार्यक्रममा जानु कि नजानु ?’ भनेर आफूनजिक रहेका नेताहरूबाट स्वीकृति लिने मौजुदा अवस्थामा अब डा. शेखरको कार्यक्रममा झन् झाङ्गिएर झन् गहिरिएर आउनेछ ।
नेपाली काङ्ग्रेसमा, काङ्ग्रेसको आन्तरिक राजनीतिमा पार्टी परित्याग गरेर जाने प्रवृत्ति धेरै कम छ र त्यसरी गएकाहरू पनि पार्टी प्रवेश नै गरेका छन् । यसको मतलव पार्टीभित्र तीव्र असन्तुष्टि, फरक मत र फरक विचार राख्दै अगाडि बढ्ने शैली चाहिँ नेपाली काङ्ग्रेस छ । यस्तो अवस्थामा अहिले सभापति शेरबहादुर देउवामा फरक मत राख्ने, फरक विचार राख्ने पंक्तिहरू के तिनीहरूले १४ औं महाअधिवेशनमा डा. शेखरलाई अन्तिम (महााधिवेशन)सम्म साथ दिन्छन् ? के तिनीहरूको कार्यगत एकता नोट अफ डिसेन्ट लेखेजस्तो रहिरहन्छ र तीन कोइरालाको मालामा भएको एकता कति लामो समयसम्म रहन्छ ? यी सबै कुराहरूमा संसय छ । राजनीतिमा संसय राख्न र लिन सकिन्छ । त्यो फूल ओइलाएर आफै जर्जर हुँदासम्म एकता रहिरहन्छ ?
रामचन्द्र पौड्याल, कृष्ण सिटौला र प्रकाशमान सिंहको नाम सभापतिमा चर्चासँगै डा.शेखरको पनि चर्चा छ तर डा.शेखर यिनीहरूभन्दा जुनियर पनि हुन् र उनी नेपाली काङ्ग्रेसमा पदाधिकारी नभएर मात्रै केन्द्रीय सदस्य हुन्, के उनको सभापतिमा माथि उल्लेखित नामहरूले सहमति जनाउँलान् ? राजनीतिमा मर्यादाको कुरा, राजनीतिमा जुनियर र सिनियरको कुरा उठ्नु नौलो कुरा होइन । नेपाली काङ्ग्रेसमै पनि त्यो कुरा बेलाबखत आएकै हो र मन्त्रिमण्डलमा पनि यस विषयमा राम्रै विवाद र बहस चलेकै हो र कालान्तरमा नेपाली काङ्ग्रेसमा जब महाअधिवेशन आउँछ, जब कार्यसमितिको निर्वाचनको समय आउँछ, यस विषयले घनिभूत आकार लिन्छ ।
एउटा कुरा डा.शेखर सभापतिको उम्मेदवार भए भने के रामचन्द्र पौड्याल र कृष्ण सिटौलाले उम्मेदवारी दिँदैन ? तर त्यो सम्भावना अत्यन्त क्षीण छ । क्षीण यस कारणले छ कि प्रधानमन्त्रीमा १७ पटक उम्मेदवारी दिने पौड्याल पार्टीको सभापतिमा दाबी नगर्लान् । यो कल्पना गर्न सकिँदैन । रामचन्द्र पौड्याल, डा. शेखर कोइराला दुवै उम्मेदवार रहे वर्तमान पार्टी सभापतिलाई पुनः सभापति बन्न अप्ठ्यारो हुँदैन ।
यस्तो परिस्थितिमा मलाई एउटा लेखक सुकरातको भनाइ याद आइरहेछ –‘भगवान मलाई शत्रुहरूदेखि डर छैन, मित्रहरूदेखि बचाउनुहोस्’ अब डा.शेखरलाई यही भनाइले विस्तारै च्याप्दै ल्याउँछ । हिजोका मित्रहरू र हिजो मालामा आबद्ध भएकाहरू नै महाअधिवेशनसम्म पुग्दा भिन्नै चित्र, भिन्नै नक्सा कोर्न र निर्माण गर्न पुग्छन् । यो कुरा सम्भवतः डा.शेखर कोइरालाले पनि बुझेको हुनुपर्छ र यही कारणले आगामी दिन उनलाई चुनौतीपूर्ण हुनसक्छ ।