भद्रपुर / पूर्वको मेची अञ्चल अस्पताल भद्रपुर परिसरबाट अस्पताल प्रशासनले पार्किङ् शुल्क असुल्न थालेको छ ।
पछिल्लो समय विरामीको चाप बढेको मौका पारेर प्रशासनले शुल्क उठाउन थालेको हो । आर्थिक अवस्था कमजोर भएका गरिब व्यक्ति मात्र उपचारका लागि आइपुग्ने एक मात्र सरकारी अस्पतालले नेपालका कुनै पनि अस्पताल मै नभएको पार्किङ शुल्क असुल्न थालेपछि नेपाली काँङ्ग्रेस झापा क्षेत्र नं ३ ले आपत्ति जनाएको छ । रकम असुली बन्द गर्न अस्पताल व्यवस्थापन समितिलाई ज्ञापन पत्र समेत बुझाएको छ ।
सङ्घ मातहतमा रहेको अस्पताल प्रदेश सरकारको जिम्मामा आए पछि जिल्ला समन्वय समिति प्रमुख व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा आए लगत्तै बसेको सञ्चालन समितिको निर्णयले अस्पताल हाताबाट सवारी शुल्क असुल्ने निर्णय भएको भन्दै ठेक्का स्वीकृति विनै केही व्यक्तिले पार्किङ शुल्क असुल्न थालेपछि रकम असुली बन्दको माग राखी मङ्गलबार ज्ञापन पत्र बुझाएको हो ।
क्षेत्रीय सभापति गणेश पोखरेलको नेतृत्वमा भद्रपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बन्धु कार्की, ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा (मनोज), झापा जिल्ला सदस्य विजय रिजाल, क्षेत्रीय सचिव गायत्रीप्रसाद भट्टराईलगायतको टोलीले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पिताम्बर ठाकुरमार्फत अस्पताल विकास समिति, जिल्ला प्रशासन कार्यालय झापालाई ज्ञापन पत्र बुझाएको छ ।
सरकारी अस्पताललाई जनमैत्री सेवा केन्द्र बनाउन राज्य लाग्नु पर्नेमा गरिबमाथि विभिन्न बाहनामा करको भारी बोकाउन लागेको भन्दै अविलम्ब शुल्क हटाउन विज्ञप्तीमा माग गरेको छ । सरकारी अस्पतालले दिने सेवा सुविधा सन्तोषजनक नभएको गुनासो बढीरहेकोमा पार्किङ शुल्कले अझ विवाद बढाउने र सरकारी अस्पतालप्रति नकारात्मक सोच बढ्ने भन्दै विज्ञप्तिमा दःुख प्रकट गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पिताम्बर ठाकुरले अस्पतल परिसरमा भाडाका गाडी दिनभर राखिदिने अवस्थाले पार्किङ समस्या बढेको भन्दै शुल्कको अवधारणाले भिड घटाउन सहयोग गर्ने सोचले गरिएको बताएका छन् ।
































