भोजपुर/ ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला अस्पताल भोजपुरका बिरामीलाई फलफूल वितरण गरिएको छ । ‘प्रजातन्त्र दिवस जिल्ला समारोह समिति’ले सोमबार अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो ।
बिरामीहरूका लागि फलफूलको व्यवस्था भोजपुर उद्योग वाणिज्य सङ्घले गरेको हो । फलफूल वितरणपछि अस्पतालका बिरामीहरूले समितिलाई धन्यवाद दिएका छन् । दिवसका अवसरमा कर्मचारी तथा जनप्रतिनिधि बीच मैत्रीपूर्ण भलिबल खेलसमेत आयोजना गरिएको समारोह समितिका अध्यक्ष लक्ष्मण खड्काले बताए ।
संयोजक खड्काका अनुसार मङ्गलबार जिल्ला सदरमुकामस्थित लोकतान्त्रिक गेटबाट प्रभातफेरीका साथ बजार परिक्रममा गरी शहीद पार्कमा राखिएको शहीदहरूको शालिकमा माल्र्यापण गरिने कार्यक्रम तय भएको छ ।
दिवसलाई भव्य बनाउन समितिले जिल्लाका ९ वटै स्थानीय तहका जनतालाई दीप प्रज्व्वलन गर्नसमेत आग्रह गरेको छ । यस अघि दिवस भव्य बनाउन एक सय एघार सदस्य राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला समारोह समिति गठन गरिएको थियो ।
राणा शासन विरुद्ध २००७ सालमा भएको क्रान्तिमा तत्कालीन जनमुक्ति सेनाका कमाण्डर जननायक रामप्रसाद राईले भोजपुरलाई मुक्त गरेको सम्झनामा जिल्लावासी दिवस मनाउन उत्साहित भएका छन् ।
फलफूल वितरण कार्यक्रममा समारोह समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्का, भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आले, प्रमुख जिल्ला अधिकारी, हिरादेवी पौडेल, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक केशवकुमार थेवे, भोजपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष धुव्रलाल श्रेष्ठ, नागरिक समाज भोजपुरका संयोजक पर्शुराम तिवारीलगायतको उपस्थिति थियो ।
































