विराटनगर/ मोरङको कटहरी गाउँपालिकामा स्थानीयको सक्रियतामा गाउँभरिका स्थानीयले स्वच्छ पिउने पानी उपभोग गर्दै आएका छन् । यहाँका स्थानीय अघि सरेर कटहरी–२ स्थित कटहरी खानेपानी सञ्चालनमा ल्याएपछि अहिले स्वच्छ पिउने पानी उपभोग गर्न पाएका हुन् ।
पाँच कट्ठा क्षेत्रफलमा २ लाख २५ हजार लिटर क्षमताको खानपानी ट्याङकी निमार्ण गरी अहिले यहाँका ७ सय ४८ घर परिवारले स्वच्छ खानेपानी पिउँदै आएको कटहरी खानेपानी आयोजना, खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिका सचिव देवराज चौधरीले जानकारी दिए । ‘कटहरीको पूरै वडामा पाइपलाइन विस्तार गरी अहिले सबैको घरमा खानेपानीको धारा जडान भएको छ,’ सचिव चौधरीले भने, ‘अहिले उपभोक्ता समिति गठन गरी कटहरीका घरघरमा स्वच्छ खानेपानी पु¥याउने काम गर्दै आएका छौं ।’
खानेपानी ट्याङकी निमार्ण गरी सञ्चालनमा आउँदा चार महिनासम्म स्थानीयलाई निःशुल्क खानेपानी वितरण गर्दै आएको समितिले अहिले शुल्क निर्धारण गरी स्वच्छ पिउने पानी दिँदै आएको हो । दुई वटा बोरिङबाट दैनिक ८ लाख लिटर पानी उत्पादन हुँदै आएको खानेपानी आयोजनाबाट साढे सात लाख लिटर पानी खपत हुँदै आएको सचिव चौधरीले जानकारी दिए । ४ सय ८० फिट गहिराईबाट पानी उत्पादन गरी उपभोक्तालाई वितरण गर्दै आएको छ ।
कटहरी–२ का दिलप अधिकारी कटहरीमा खानेपानी आयोजना सञ्चालनमा आएपछि स्वच्छ पिउने पानी उपभोग गर्न पाएको बताउँछन् । ‘यस अघि ट्युवेलको पानी उपभोग गर्दै आएका थियौं,’ उनले भने, ‘खानेपानी आयोजना सञ्चालनमा आएपछि ट्युवेलको पानी पिउन छाडेका छौं, धाराको पानी खाने बानी भएपछि ट्युवेलको पानी अहिले खान मनै लाग्दैन ।’ उनले भने ।
अधिकारी जस्तै यहाँका अन्य उपभोक्ताहरू समेत कटहरी खानेपानी आयोजनाको ग्राहक बन्न इच्छुक रहेको समितिको अध्यक्ष विद्यानन्द चौधरीले बताए । ‘नयाँ ग्राहक बन्ने उपभोक्तालाई हामीले शुल्क निर्धारण गरेका छौं,’ उनले भने, ‘समितिले तोकिदिएको शुल्क बुझाएपछि सदस्य बनाउने गरेका छौं ।’ उनका अनुसार नयाँ सदस्य ग्राहकलाई सदस्य वापत् २ हजार रुपैयाँ र धारा जडान् गरेवापत् १ हजार ३ सय रुपैयाँ लिने गरेको चौधरीले बताए । पानी उपभोग गर्ने उपभोक्ता वृद्धि हुन थालेपछि कटहरी–२ आदर्श टोलमा १ थान ओभरहेड ट्याङ्की निर्माण गर्न समितिले तयारी गरेको छ ।
‘गाउँपालिका भरिका उपभोक्तालाई लाभान्वित गराउन थप विस्तार गर्ने तयारीमा छौं,’ अध्यक्ष चौधरीले भने,‘ओभरहेड ट्याङ्की, पाइपलाइनको विस्तार र ट्रिटमेन्ट प्लाण्ट जडान गर्ने तयारीमा लागि परेका हौं ।’
खानेपानी आयोजनाको साधारणसभा
कटहरी खानेपानी आयोजना तथा सरसफाइ मूल उपभोक्ता समितिले प्रथम साधारणसभा गरेको छ । कार्यालय परिसरमा सोमबार वार्षिक साधरण सभा गरेको हो । साधारणसभाको उद्घाटन प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरे । सभाको उद्घाटन गर्दै मन्त्री घिमिरेले स्वच्छ पानीको उपभोग गर्न सङ्गठित रूपमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
उनले सरसफाइलाई विशेष ध्यान दिएर स्वच्छ र गुणस्तरीय पानी उपभोक्तालाई दिनुपर्ने बताए । कार्यक्रममा कटहरी–२ का वडा अध्यक्ष किशोर पाण्डे, वडा अध्यक्ष कपुलला माझी, कटहरीको उद्योण वाणिज्य सङ्घका अध्यक्ष अरविन्द शर्मालगायत बोलेका थिए । खानेपानी समितिको साधारणसभामा बोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरे ।
































