सिरहा/ सिरहाको सुखीपुर नगरपालिकाले स्थानीयसँगको समन्वय नगरी पोखरी ठेक्का लगाएपछि उत्पन्न विवादले हिंसात्मक रूप लिएको छ । विवादका क्रममा झडप हुँदा एक दर्जन बढी घाइते बनेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

नगरपालिकाले निजी पोखरी ठेक्का दिएको भन्दै पोखरी धनी र ठेक्का प्राप्त गर्ने पक्षबीच शनिबार झडप भएको हो । नगरपालिकाले पोखरी सरकारी रहेको दाबी गर्छ भने स्थानीय छठु मण्डलले पोखरी आफ्नो भएको दाबी गरेका छन् ।

सुखीपुर–२ स्थित विद्यानगरको सिकिया पोखरी ठेक्का लगाएपछि हिंसात्मक रूप लिएको हो । घाइतेहरूलाई उपचारका लागि विराटनगर र धरान पठाइएको छ । पोखरीको क्षेत्रफल १२ कठ्ठा १६ धुर रहेको छ ।

ठेक्का लगाउनु पूर्व नगरपालिकाले ७ दिने र २१ दिने हकदाबीको सूचना माग गरेको थियो । सो माग दाबीअनुसार पहिलो पटकको ७ दिने सूचनामा सुखीपुर–२ का छठु मण्डलले आफ्नो जग्गा रहेको भन्दै निवेदन दर्ता गराएका थिए ।

अर्का स्थानीय रामचन्द्र यादवले २१ दिने सूचना जारी गर्दा उक्त पोखरी आफ्नो हुनुपर्ने माग दाबी गरेका थिए । पोखरीको माग दाबी गर्नेमध्ये छठुले माछा मार्ने क्रममा विवाद उत्पन्न हुँदा झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाई फायर गर्नुपरेको थियो ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप प्रहरी झिकाएको थियो । पोखरी ठेक्का लगाएको विषयमा बुझ्नका लागि नगर प्रमुख रामऔतार यादवलाई फोन गर्दा केही भन्न चाहेनन् । नगरपालिकाको गलत निर्र्णयका कारणले घटना भएको स्थानीयको दाबी छ । उक्त स्थानमा अहिले पनि जिल्ला प्रहरी तैनाथ छन् ।

पोखरीको हक दाबी गरेका मण्डल र यादवको निवेदनउपर कारबाही गर्न २ नम्बर नापी टोली सुखीपुरले कागजात उपलब्ध गराउन भन्दै २०७३ पुष १८ गते सुखीपुर नगरपालिकालाई पत्र लेखेको थियो ।

तर, नगरपालिकाले आधिकारिक जवाफ नपठाएपछि नापीले नगरपालिकालाई २०७३ फागुन २३ गते पुनः पत्राचार गरेको थियो । नगरपालिकाले नापीको जवाफ २०७३ फागुन २३ गते गरेको थियो ।

जसमा सुखीपुर नपाले पोखरी ठेक्का लगाउनका लागि आधार प्रमाण पेश नगरेको नापी कार्यालय बताउँछ । तर, सुखीपुरका तात्कालीन सचिव रामकरण दासले पोखरी निजी नभएर सार्वजनिक भएको दाबी गर्छन् ।

नापीले २०७४ कात्तिक ७ गते नगरपालिकालाई पोखरीको जग्गा सार्वजनिक हो/होइन भनी तेस्रो पत्र पठाएको थियो । तर, नगरपालिकाले पोखरीको जग्गा सरकारी हो भन्ने पुष्टि हुने ठोस प्रमाण पेश नगरेको नापी कार्यालयका कर्मचारी बताउँछन् । त्यो बेला सचिव दासलाई नै नापीले पत्राचार गरेको थियो ।

सुखीपुर–२ नम्बर वडाले नापी कार्यालयलाई २०७४ असोज १ गते पठाएको पत्रमा छठु मण्डल धानुकको जग्गा हो भन्ने उल्लेख छ । पुनः २०७५ मङ्सिर ४ मा पनि छठु मण्डलले नै भोगचलन गर्दै आएकोको भन्दै वडा कार्यालयले सिफारिस दिएको देखिन्छ ।

यता अर्का यादवको दाबी पुग्ने/नपुग्ने आधार हालसम्म फेला पर्न सकेको छैन ।