बेलबारी/ मोरङको बेलबारी नगरपालिका वडा नं. ११ भाउन्नेस्थित सृजना सामुदायिक वनको क्षेत्रमा सृजना पार्क बन्ने भएको छ ।
सृजना पार्क निर्माण समितिद्वारा भाउन्ने बजारदेखि पूर्वपट्टिको वनक्षेत्रको ३३ बिघा जग्गामा पार्क बन्न लागेको हो । उक्त पार्कलाई सृजना रक गार्डेन नामाकरण गरिने निर्माण समितिका सचिव शङ्कर गुरुङले बताए । गार्डेनमा ४२ वटा ढुङ्गामा विभिन्न कलात्मक मूर्तिहरू कुँदिने बताइएको छ । करिब एक करोड ८० लाखमा निर्माण हुन लागेको पार्कमा सातवटा देशका मूर्तिकारहरूले मूर्ति बनाउने भएका छन् ।
जापान, जर्मनी, इटाली, भारत, बङ्गलादेश, इजरायल र नेपालका मूर्तिकारहरूले मूर्ति निर्माण गर्ने भएका हुन् । भाउन्ने निवासी मूर्तिकार धनु याक्खाको संयोजनमा बजारदेखि नजिकै रहेको खाली जमिनलाई पार्क बनाउन प्रस्ताव गरेपछि अहिले त्यहाँ पार्कको अवधारणा ल्याइएको हो । पार्क निर्माणको लागि स्थानीय सामुदायिक वन, सङ्घ–संस्था र नगरपालिकाले सहयोग गर्ने भएको छ ।
शनिबार एक समारोहमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले पार्कको उद्घाटन गरेका थिए । कार्यक्रममा स्थानीय राजनैतिक पार्टीका नेता, जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
































