यासोक (पाँचथर)/ के पैदलयात्री, के सवारी साधन प्रयोगकर्ता, बजारमा निस्कने सबैलाई धुलोको कुइरीमण्डलले स्वागत गर्छ । धुलोले बजारमा निस्कन सकिँदैन । धुलोबाट बच्न बिहान लगाएको मास्क बेलुकासम्म कालो बन्छ । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा दैनिक देखिने दृश्य हो यो ।

बजार धुलाम्मे भएपछि व्यवसायीहरू मारमा परेका छन् । कच्ची सडकमा गाडी गुड्दा र हावा चल्दा बजारको वातावरण नै अस्त–व्यस्त हुने गरेको छ । बजारको भौतिक पूर्वाधारमा लाखौं रुपैयाँ खर्च गरेको गाउँपालिकाले तत्काल वैकल्पिक उपायको खोजी नगर्दा व्यवसाय सञ्चालन गर्न समस्या भएको स्थानीय होटल व्यवसायी अविशेक श्रेष्ठले बताए । ‘दिउँसोको समयमा बजारमा धुलो उड्न थालेपछि व्यवसाय नै बन्द गर्नुपर्ने समस्या हुन्छ, समयमै सम्बन्धित निकायले ध्यान नदिँदा व्यवसाय गर्न समस्या भएको छ’ –गुनासो गर्दै उनले भने ।

२०१६ सालमा स्थापना भएको बजार भौतिक पूर्वाधार निर्माणको लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ४० लाख रुपैयाँको लगानीमा नाली र बजार व्यवस्थापनको काम गरेको थियो । यो आर्थिक वर्षमा पनि क्रमिक रूपमा पूर्वाधार निर्माणको लागि सङ्घीय सरकारले २५ लाख र गाउँपालिकाको ३० लाख गरी ५५ लाख रुपैयाँको लागतमा पूर्वाधार निर्माण शुरु गर्न लागेको छ । तर वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे बजारको व्यवस्थापनमा ध्यान नपु¥याउँदा व्यवसायीहरू प्रत्यक्ष मारमा परेका छन् ।

वर्षौंदेखिको यो पीडा अहिले पनि उस्तै, छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले दीर्घकालीन उपायको खोजी नगर्दा स्थानीय निराश छन् । बजार व्यवस्थापन गर्दा बजारको भौगोलिक अवस्थालाई मिलाउन बजारभित्रको जमिनको सतह मिलाएको थियो । जमिनको भाग समथर त भयो तर समस्या गतवर्षको भन्दा पनि भयावह भएको छ । बजार भित्र धुलो उड्न थालेपछि बजार भर्न पुग्ने नागरिक र व्यवसायी समस्यामा पर्ने गरेका छन् ।

बजारमा पर्याप्त पानी नहुँदा धुलो हटाउन समस्या भएको व्यवसायीको गुनासो छ । बजारमा प्रत्येक महिनामा ३ वटा हटिया लाग्छ । हटिया भर्न कुम्मायक, फाल्गुनन्द र तुम्बेवा गाउँपालिकाबाट आएका नागरिकले धुलोसँग सङ्घर्ष गर्दै व्यवसाय गर्नुपर्ने हुन्छ । त्यस बापत उनीहरूले स्थानीय सरकारलाई कर बुझाउनु पर्छ ।

प्रत्येक बजारमा हाटबजार कर उठाउने गरेको गाउँपालिकाले नागरिकलाई परेको पीडाप्रति कुनै चासो दिएको पाइँदैन । बजारको वातावरण धुलाम्मे भएपछि स्वास्थ्य समस्या देखापर्ने खतरा बढेको कुम्मायक गाउँपालिकाका स्वास्थ्य संयोजक लक्ष्मण ढकालले बताए । विद्यालयमा अध्ययन गर्ने बालबालिकादेखि वृद्धवृद्धाहरूले धुलोबाट बच्न उच्च सावधानी अपनाउनु पर्ने ढकालको भनाइ छ । ‘धुलोबाट बच्न सावधानी नअपनाए एलर्जी, रुघाखोकी, निमोनिया र वृद्धवृद्धाहरूलाई दमको समस्या देखापर्ने हुन्छ’–उनले भने ।

कुम्मायक गाउँपालिकाले धुलाम्मे बजारलाई व्यवस्थित गर्न कुनै पहल गरेको छैन । नागरिकको स्वास्थ्यलाई प्रभाव पर्ने गरी वातावरण नै अस्त–व्यस्त भएपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ । गाउँपालिकाको केन्द्र यासोक बजारलाई केन्द्रविन्दु बनाएर प्रदेश सरकारले फिदिम–यासोक सडक–खण्ड कालोपत्रे गर्ने भएकाले सोही समयमै बजारको समस्या सम्बोधन गर्ने कुम्मायक गाउँपालिकाले जनाएको छ ।

तर बजारको के कति स्थानमा कालोपत्रे हुने हो, त्यो प्राविधिक स्टिमेटका आधारमा हुने भएकाले स्थानीय सरकारले नै धुलाम्मे र हिल्लाम्मे सडकको संरक्षण गर्नुपर्ने स्थानीयले बताउँदै आएका छन् ।