धनकुटा/ धनकुटा नगरपालिका वडा नं. ३ स्थित कागते गाउँका सबै घर हरियो रङ्गका छन् । पहिलो चरणमा ९० घर एकै रङ्गले सजिएका छन् । दुई वर्ष अघिदेखि थालिएको यो अभियानमा अब निगाले क्षेत्रका ३० घरबाहेक सबै घरमा रङ्ग पोतिसकिएको वडाध्यक्ष विकास घिमिरेले बताएका छन् ।

हरियो रङ्गले रङ्गाउने अभियानलाई ‘ग्रिन कागते, क्लिन कागते’ नाम दिइएको छ । ३ नम्बर वडाको मुख्य जनसम्पर्क थलो भएकाले पहिलो चरणमा कागते क्षेत्रलाई प्राथमिकतामा राखिएको अध्यक्ष घिमिरेको भनाइ छ । हरियो रङ्गले रङ्गाउन वडाले चार लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष घिमिरेले जानकारी दिएका छन् ।

अघिल्लो वर्ष दुई लाख र यस वर्ष पुनः दुई लाख विनियोजन गरिएको हो । रकम स्थानीयका घरमा लगाइने रङ्ग खरिद र रङ्ग लगाइदिने कार्यमा खर्च गरिँदैछ । डाँडाको माथिबाट नियाल्दा समान प्रकारका रङ्गले सिङ्गो बस्ती सजिएको देखिने स्थानीय यज्ञबहादुर कार्कीले बताए । रङ्गसँगै सरसफाइ, वृक्षरोपण र घरघरमा फूलबारीले सजाउने गरिएको छ । त्यसमा टोलवासीको साथ रहेको स्थानीय गोपाल तामाङले बताए । धनकुटा–३ कागते चोकमा कागतीको प्रतिमा राख्ने तयारी गरिएको छ ।

त्यसैगरी धनकुटा नगरपालिकाका सबैजसो वडालाई पर्यटकीय आकर्षण गर्न साजसज्जा थालिएको छ । १० वडामा रहेको नगरपालिकाको १ वडालाई फूलबारीको शहर घोषणा गरिएको वडाध्यक्ष निरन तामाङले ब्लाष्टलाई बताए । उनका अनुसार हिले बजार नजिकैको जौटारमा ३२ भन्दा बढी प्रजातिका गुराँस रोप्न थालिएको छ ।

वडा–२ लाई मधुगङ्गाधामका आधारमा धार्मिक पर्यटनको विकास गरिने अध्यक्ष चन्द्रलाल तामाङले बताएका छन् । वडा ३ लाई ग्रिन सिटी बनाउन थालिएको छ । वडा ४ को श्रीपञ्चमी पार्कलाई आठपहरिया समुदायको पहिचान झल्किने गरी थप नयाँ कार्यक्रमको साथ सुधार गरिन लागिएको वडाध्यक्ष जमसेर राईले बताएका छन् ।