विराटनगर/ जनप्रतिनिधिको संलग्नतामा मोरङको बुढीगङ्गा गाउँपालिका–४ भवानीपुर उखु खेतीस्थित बुढी खोलामा अवैध उत्खनन् हुने गरेको पाइएको छ ।
बुढीगङ्गाको भवानीपुर–१ र २ नम्बर नाकामा पर्ने बुढीखोला क्षेत्रमा बुढीगङ्गा–४ का वडाध्यक्ष कासिम मियाँको संलग्नतामा अवैध उख्ननन् हुने गरेको स्थानीयको आरोप छ । स्थानीयका अनुसार दैनिक २-३ वटा स्काभेटर लगाएर उत्खनन् गर्दा ठूल्ठूला खाल्डाखुल्डीहरू बढ्दै गएको छ । स्काभेटरले उत्खनन् गरेको माटो दैनिक १० देखि १५ वटा टिपरले विभिन्न ठाउँमा लैजाने गरेको स्थानीय नुर महमदले बताए । माफियाले वडा अध्यक्षलाई प्रलोभनमा पारेर खोला उत्खनन् गर्ने गरेको स्थानीयको दाबी छ । स्थानीय नुर महमदले आफूले पटक–पटक अवैध उत्खनन् गर्ने गिरोहलाई रोक्ने प्रयास गरे पनि कसैले सहयोग नगरेको बताए ।
‘मैले पटक–पटक यी ठाउँहरूमा उत्खनन् गर्नु हुदैन भनेर रोकेँ तर माफियाहरूले गाउँपालिका, नगरपालिकमा राजश्व तिरिरहेका छौं भन्ने गरेका छन,’ उनले भने । स्काभेटर लगाएर उत्खनन् गरेका कारण केही स्थानमा २० फिट गहिरो खाल्डो परेको छ । ‘ बुढीगङ्गा–४ बुढीखोलाको बगरमा रुखै रुख थियो,’ महमदले थपे, ‘अहिले उत्खनन् गर्दा धेरै रुखहरू उखलिएको छ ।’ बुढीखोलाबाट उत्खनन् गरिएको भरोट लिएर गएको टिपरबाट वडाध्यक्ष मियाँले प्रतिटिपर ७ सय देखि ८ सय रुपैयाँ लिने गरेको स्रोत बताउँछ । वडा अध्यक्ष मियाँले टिपर जाने आफ्नो जमिन पर्ने भएकाले २–३ सय रुपैयाँ लिने गरेको ब्लाष्टसँगको फोन सम्पर्कमा बताए ।
‘मेरो जमिन हुँदै टिपर जान्छ,’ वडा अध्यक्ष मियाँले भने, ‘त्यही वापत ठेकदारले प्रतिटिपर २ सय रुपैयाँ दिने गरेको हो ।’ ठेकेदारले स्वीकृत गराएको परिमाणभन्दा बढी उत्खनन् भएको बारे आफूलाई जानकारी नभएको उनले बताए । जिल्ला समन्वय समिति मोरङबाट ११ हजार २ सय ४२ घनमिटर बालुवा र १० हजार २ सय ४२ घनमिटर भरौट उत्खनन् गर्ने स्वीकृत दिएकाले त्यहीअनुसार गाउँपालिकाले ठेक्का लगाएको बुढीगङ्गा गाउँपालिकाले जनाएको छ ।
जसमध्ये बुढीगङ्गा–४ भवानीपुर १ नम्बर नाकाको लागि २ हजार ८ सय २२ घनमिटर भरोट र २ सय ५ घनमिटर बालुवा उत्खनन् गर्न स्वीकृत भई ठेक्का लगाएको बुढीगङ्गा गापा प्रमुख बालचन्द माझीले बताए । त्यस्तै भवानीपुर २ नम्बर नाकामा भरोटको मात्र ठेक्का लगाएको छ । त्यस नाकामा ५ हजार १ सय भरौट मात्र उत्खनन् गर्न मिल्ने गरेको गाउँपाकिाले ठेक्का लगाएको बताइएको छ । बुढीगङ्गामा पर्ने बुढी खोलाको बालुवा र भरौटको ठेक्का किरण चौधरीले १५ लाख ३ हजार रुपैयाँमा लिएका हुन् ।
गाउँपालिकाले स्वीकृत गरिएको परिणामभन्दा बढी उत्खनन् गरिएको पाइए तत्काल कारवाहीको दायरमा ल्याउने गाउँपालिका प्रमुख माझीले बताए । ‘जसले ऐन नियमअनुसार काम गर्दैन । ती सबैलाई कारवाही गर्छौ,’ गाउँपालिका प्रमुख माझीले भने, ‘अवैध उत्खनन्मा जोसकुको संलग्न भए पनि कारवाहीको दायरमा ल्याउनेछौं ।’ यता जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले उत्खनन् गर्ने भनेर अहिलेसम्म हामीलाई बढुगङ्गाले जानकारी नगराएको बताए ।
‘बुढीगङ्गाले प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) स्वीकृत गरिसकेको छ,’ उनले भने, ‘उत्खनन् गर्नुअघि जिसससँग सहमति लिनुपर्ने हो । अहिलेसम्म गराएको छैन ।’ ठेकदार किरण चौधरीले भने उत्खनन् शुरु गरेको नै दुई महिना बितिसकेको बताउँदै मापदण्डमा रहेर उत्खनन् गरिएको दाबी गरे ।
































