पाँचथर/ फिदिम नगरपालिका-४, स्थित गढी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीका लागि दुई थान ब्रेल टाइप राइटर प्रदान गरिएको छ ।

किरात याक्थुङ चुम्लुङ युकेको महिला शाखाले सोमबार विद्यालयमै पुगेर दुई थान ब्रेल टाइप राइटर र एउटा तामाको वाटर फिल्डर प्रदान गरेको हो । सो सामग्री शाखाकी अध्यक्ष सूर्य (केरुङ) आङदेम्बेले विद्यालयका प्रधानाध्यापक मानध्वज थाम्सुहाङलाई हस्तान्तरण गरिन् । विद्यालयमा अध्ययनरत दृष्टिबिहीन बिद्यार्थीहरुको अध्ययन, अध्यापनमा सहयोग पुगोस भन्ने उदेस्यले एक लाख दश हजार चार सय रुपैंयाँ बराबरको उक्त सामग्री सहयोग स्वरुप प्रदान गरेको चुम्लुङ युके महिला शाखा अध्यक्ष सूर्यले बताइन् ।

सामग्री ग्रहण गर्दै प्रधानाध्यापक थाम्सुहाङले चुम्लुङ युके महिला शाखाप्रति आभार व्यक्त गरे भने सामग्री पाएर खुसी भएका दृष्टिबिहीन विद्यार्थीले गीत मार्फत् धन्यवाद दिएका थिए । विद्यालयमा हाल १५ जना दृष्टिबिहीन विद्यार्थी अध्ययनरत रहेको स्रोत शिक्षक होमादेवी खनालले बताइन् ।