काँकरभिट्टा/ नेपालका अधिकांश युवायुवतीहरू वैदेशिक रोजगारीको सिलसिलामा विदेश पलायन भइरहेका छन् भने नेपालमा रोजगारी पाइँदैन भन्दै भाषा पढेर अमेरिका, कोरिया, जापानजस्ता विकसित मुलुक जाने युवायुवतीहरूको लर्को पनि छ ।

तर काम गर्न सक्यो भने नेपालमा पनि धेरै सम्भावना रहेको मेचीनगर–४ बाहुनडाँगीका २२ वर्षीय पवन बराइलीको कामबाट पुष्टि हुन्छ । पवनले २०७४ सालमा काँकरभिट्टामा ब्रदर्श रेष्टुरेण्ट खोलेका थिए । पहिलाको व्यवसायले राम्रो नाफा दिन नसकेपछि अहिले मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य टीकाराम मग्रातीको सहयोगमा दुई जनाको पार्टरसिपमा त्यही ठाउँमा २०७५ साल कात्तिक १७ गते १० लाखभन्दा बढीको लागतमा बोर्डर पोइन्ट रेष्टुरेण्ट एण्ड क्याफे सञ्चालनमा ल्याएका छन् ।

बराइलीले भने, ‘अन्तर्राष्ट्रिय सीमासँग जोडिएको पूर्वको पर्यटक भित्रिने प्रमुख नाका काँकरभिट्टा भएका कारण पर्यटकलाई लक्षित गरेर होटल खोलेका हौं ।’

अहिले उनको होटलमा तीनजना कर्मचारी रहेका छन् । पवनले पहिला आफूले भारतको केरलामा ४५ सयका लागि १८ घण्टा काम गरेको दुःख सम्झिँदै भने, ‘१२ कक्षा मेचीनगरको भानु माविबाट गरेँ, त्यसपछि पढाइ त्यहीँ रोकियो । परिवारको आर्थिक अवस्था खासै राम्रो थिएन ।

त्यसपछि पैसा कमाउन भारतको केरलामा गएर तीन महिना होटलमा भाँडा माझेँ, काम गरेँ, त्यसपछि ब्लुथिप होटलमा किचन हेल्परको रूपमा काम गरि सकेपछि मेरो इमान्दारिता देखेर होटलको मालिकको सहयोगमा नवजीवन इन्स्टिच्युट एण्ड होटल म्यानेजमेन्ट स्कुलबाट १८ महिने कोर्ष पूरा गरेँ, त्यसपछि मलाई कामको खडेरी परेन । ३ वर्षजति भारतमा नै काम गरेपछि अब गएर आफ्नै देशमा काम गर्छु भन्ने सोचेर नेपाल आई होटलमा भविष्य खोज्दै परिवारको सहयोगमा मैले होटल खोलेको हुँ ।’

उनी आफू अहिले व्यवसायी भएको बताउँछन् । ‘पहिला १८ घण्टाभन्दा बढी काम गर्दा ४६ सय रुपैयाँ कमाउँथें तर अहिले ४५ हजारभन्दा बढी मासिक रूपमा कमाउँदै छु’ पवन भन्छन्, ‘नेपालमा रोजगारी छैन भनेर दिनमा हजारौं युवायुवती विदेश पलायन भइरहेका छन् । हाम्रो समाजमा अझै पनि होटल भन्ने बित्तिकै नकारात्मक रूपले हेर्ने चलन कायमै रहेको छ ।’

नेपालमा विश्वकै अग्लो सगरमाथा र ऐतिहासिक पर्यटकस्थल र गौतम बुद्धको जन्मेको ठाउँ भएकाले नेपाल हेर्नका लागि विदेशी हजारौं पर्यटक आउने भएका कारण होटलमा भविष्य रहेको पवनले बताए ।