सिरहा/ धनुषा जिल्लाको पूर्वी उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर मेलामा श्रद्धालुभक्तजनहरुको भीड लागेको छ । माघको प्रत्येक आइतबार मकर मेला लाग्छ । श्रद्धालु भक्तजनहरुले धनुष मन्दिरमा दर्शनपूजा गरेका छन् ।

ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्वको धनुषाधाम मकर मेला भ्रमण आउने श्रद्धालुभक्तजनको संख्या प्रत्येक वर्ष बढ्दै गएको अनुमान गरिन्छ । मिथिला महात्म्यका अनुसार पाँच मकर स्नान गरेर धनुषको दर्शन गरेपछि । परम्परागत हिसाबले पनि वर्षभरी गरिएको आकलभाकल माघभरि चढाउने गरिन्छ ।

त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयबरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको छ ।

धनुषधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ । उक्त रुख पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ । अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास छ ।

भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्छन् । जनकपुरदेखि करिब १९ किमी उत्तरपूर्वमा रहेको धनुषाधाममा धनुषको पूजाअर्चना गर्न वर्षेनी लाखौँंको संख्यामा स्वदेशी तथा विदेशी विशेषगरी भारतीय पर्यटक आउँछन् ।

यहाँ अमेरिका, थाइल्याण्ड, सिंगापुरलगायत अन्य देशबाट पनि पर्यटक आउँछन् । वर्षेनी धनुषको आकार बढ्दै गएको मन्दिरका महन्थ दासले बताए ।