पथरीशनिश्चरे/ पूर्वपश्चिम मुख्य सडकबाट दक्षिण रंगेली हुँदै भारतसम्म जोडिने मोरङको ऐतिहासिक मनमोहन गान्धी मार्गलाई पथरीशनिश्चरे नगरपालिका खण्डमा फराकिलो बनाउन स्थानीय लागि परेका छन् ।

वडा नम्वर ४, ९ र ८ को सीमा हुँदै दक्षिण रंगेली जोड्ने सो सडक शनिश्चरेदेखि सोमबारेसम्म फराकिलो बनाउन स्थानीयले सुरु गरेका हुन् । पूर्वपश्चिम मुख्य सडकमा जोडिएको वडा नम्वर १० को शिविर क्षेत्रहुँदै जाने सो सडक शनिश्चरे चोकमा फराकिलो बनाई कालोपत्रे नै भएपछि त्यसभन्दा दक्षिण ६० फुट चौडाईको बनाएर जाने काम थालिएको छ ।

४, ९ र ८ नम्वर वडा कार्यालयबाट प्राविधिकको सहयोगमा नापेर सडक क्षेत्र खाली गराउने क्रममा रहेको सोमवारेतर्फको उपभोक्ता समितिका अध्यक्ष नवीनजंग कार्कीले जनाए ।

सडकलाई साविकको भन्दा दोब्बर फराकिलो बनाइने उनले वताए । नगरपालिकाको अवको बजेटमा सो सडक स्तरोन्नतीको योजनामा राख्न अनुरोध गर्दै हाललाई सडक क्षेत्रका रुख विरुवा हटाएर माटो पुर्ने काम गरिने उनले जनाए । जस अन्तर्गत रुख विरुवा हटाउने काम सुरु भएको छ ।

स्थानीयले श्रमदान गरेर माटो पुर्ने काम हुँनेछ । ‘यसलाई क्रमिक रुपमा भएपनि नगरपालिकाका साथै प्रदेश र संघीय सरकारले कालोपत्रेको योजना अघि बढाउन आवश्यक रहेको स्थानीयको माग छ ।’– कार्कीले अथ्र्याए ।

शनिश्चरेतर्फको दीपेन्द्र खनाल र त्यसदक्षिण सोमबारेसम्मको सडकका लागि नवीनजंग कार्कीलाई स्थानीयले उपभोक्ता समिति अध्यक्ष बनाएका छन् ।