उर्लाबारी/ उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले वर्तमान संविधानलाई पूर्ण कार्यान्वयन गर्न तीनवटै सरकारबीच समन्वय हुनु जरुरी रहेको बताएकी छन् । उर्लाबारी नगरपालिकाले प्रकाशन गरेको स्थानीय राजपत्र आइतबार सार्वजनिक गर्दै उपसभामुख तुम्वाहाङ्फेले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा नागरिकलाई सेवा प्रदान गर्न नसकीने र अन्यौलतासँगै समस्या सिर्जना हुने बताएकी हुन् ।
तुम्वाहाङ्फेले केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वय जस्तै स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरूबीच पनि सहकार्य गर्न जरुरी रहेको बताइन् । उनले उर्लाबारी नगरपालिकाको कार्यसम्पादन सन्तोषजनक रहेको बताइन् ।
नगर प्रमुख खड्ग फागोले नगरको विकासका लागि स्थानीय जनप्रतिनिधिहरू लागि परेको बताए । उर्लाबारी नगरपालिकाले २०७४ सालमा ७ वटा र २०७५ सालमा २२ वटा कानून निर्माण गरेको थियो । स्थानीय सरकार सञ्चालनका क्रममा आवश्यक पर्ने २९ वटा कानून, ७ वटा ऐन, ५ वटा नियमावली, २ वटा निर्देशिका, १ वटा आचार संहिता र १४ वटा कार्यविधिलाई समेटेर स्थानीय राजपत्र सार्वजनिक गरेको हो ।
पत्रकारसँग उपसभामुखको छलफल
उपसभामुख तुम्बाहाम्फेले आइतबार उर्लाबारीका पत्रकारहरूसँग छलफल गरेकी छन् । ग्रामीण क्षेत्रका पत्रकारहरूको समस्याका विषयमा चासो व्यक्त गरेकी हुन् । उपसभामुख तुम्बाहाम्फेले पत्रकारहरूको समस्या, विज्ञापन, मिडिया हाउस सञ्चालनका कठिनाइलगायतका विषयमा जानकारी लिइन् ।
सञ्चारसम्बन्धी विधेयक संसदीय समितिमा छलफल भइरहेको बताइन् । उर्लाबारीमा दुई वटा एफएम रेडियो, दुई दैनिक पत्रिका र तीन वटा साप्ताहिक पत्रिका सञ्चालनमा छन् ।
































