पाँचथर/ फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको शनिबार निधन भएको छ । फाल्गुनन्द गाउँपालिका–५, ले आयोजना गरेको कार्यक्रममा मन्तव्य राखिसकेर कुर्सिमा बसेपछि नेम्बाङमा अचानक समस्या देखिएको थियो ।

तीन दिने क्षमता बिकास तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट पाँच मिनेट बोलेका नेम्बाङ अचानक ढलेको बताइएको छ । प्राथमिक उपचारपछि तत्काल इलाम अस्पताल पुर्याइएका नेम्बाङलाई डाक्टर पवनजंग रायमाझीले मृत घोषणा गरेका थिए ।

नेम्बाङ गत स्थानीय तह निर्बाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष निर्वाचित बनेका थिए । वि.सं.१९९८ सालमा बाबु नयेन्द्रराज नेम्बाङ र आमा श्रीहाङ्मा (थाम्सुहाङ) नेम्बाङको कोखबाट पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवामा भएको थियो ।

अंग्रेजी साहित्यबाट स्नातकोत्तरसम्मको औपचारिक अध्ययन गरेका नेम्बाङ लेखक समेत हुन् ।  उनको सम्झनाका तरेलीहरु (संस्मरण संग्रह), अमेरिकाका सम्झनाहरु (संस्मरण) र एउटा साँझको अवशान (कविता संग्रह) प्रकाशित छन् । नेम्बाङलाई नेपाल सरकारबाट प्रदान गरिने सुप्रवल जनसेवाश्री पदकबाट समेत बिभूषित हुनुभएको थियो ।