विराटनगर / टिफरको ठक्करबाट विराटनगरस्थित बरगाछीमा आज विहान एक साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
इटहरी विराटनगर सडक खण्ड अन्तर्गत विराटनगरको बरगाछी चौकस्थित बाटो काट्दै गरेको साइकल यात्रीलाई को १ ख ७०७२ नम्बरको टिफरले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको मोरङ ट्राफिक प्रमुख शिवकुमार पोखरेलले जानकारी दिए । मृतक अन्दाजी ४५/५० वर्ष जतिका देखिने पुरुषको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।
उत्तरबाट साईकलमा दक्षिणतर्फ आउँदै गर्दा बरगाछी चोकैमा टिपरको पछाडिको चक्काले पुरुषलाई ठक्कर दिंदा घटना भएको प्रहरीले जनाएको छ । टिफरको ठक्करबाट मुत्य हुने साइकल यात्रीको पहिचान हुन नसकेको ट्राफिक प्रमुख पोखरेलले बताए ।
प्रहरीले शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा लगेको छ । अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएका कारण शवको पहिचान खल्न गाह्रो भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ । टिफर चालक इटहरी १३ का ५६ वर्षिय नुना सरदारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।
स्थानिय प्रत्यक्षदर्शीहरूका अनुसार तिव्र गतिमा आएको टिपरले ठक्कर दिदा साइकल यात्रीको मृत्यु भएको बताइएको छ । आज विहान ८ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
































