उदयपुर/ देशैभर पानी र हिमाली भेगमा हिउँ परिरहेका बेला उदयपुरका कृषकहरू उचित समयमा पानी परेको भन्दै हर्षित भएका छन् ।  जलवायु परिर्वतनका कारण समयमा पानी नपर्नाले उचित समयमा बाली नाली लगाउन नपाउने समस्या माघे पानीले हटाएको भन्दै कृषकहरु हर्षित भएका हुन् । 

समयमै पानी परेपछि जिल्लाकै विकट गाउँपालिका लिम्चुङ्बुङ, रौतामाई, ताप्ली लगायतका गाउँपालिका र नगरपालिकाका कृषकहरू हर्षित भएको हुन् ।

उच्च पहाडी भेगमा फागुनको दोस्रो सातादेखि मकै छर्न शुरु गरिने भएकाले गत वर्षहरूमा पानी नपर्ने समस्याले सताउँदै आएको थियो । तर यसपाली भने माघमा पानी परेपछि जमिन राम्रोसँग भिज्न पाएको छ । करिब ५ महिना पछि परेको पानीले कृषी बालीलार्ई अति राम्रो गरेको कृषकहरू बताउँछन् ।

पहिले पहिले कम्तीमा पनि एक पटक महिनामा माटो गलुञ्जेले पानी पथ्र्यो । तर आजभोलि वर्षायाममा पनि पर्याप्त पानी नपरी खडेरी लाग्नाले अन्नबाली उब्जाउमा समस्या आउँदै गएको बूढापाकाहरू बताउँछन् ।

‘समय सकिएको हो, या समय नै यस्तै हो प्रत्येक महिना कम्तीमा एक पटक मजाले पानी पर्ने भएकाले पर्याप्त घाँस हुने र जङ्गल पनि हरियाली हुथ्यो ।’ लिम्चुङ्बुङ गाउँपालिकाका ७५ वर्षीय लोकबहादुर राईले भने ।

समयमा पानी परेपछि गाई, वस्तुलाई प्रशस्त घास पलाउँथ्यो । पाखोबारीमा भए पनि अन्न बाली राम्रो हुन्थ्यो । गाईवस्तुको मल प्रयोग गरेर अन्न उब्जाउँथ्यो । तर जलवायु परिवर्तनका कारण पर्याप्त र समयमा पानी नपर्ने समस्याले गर्दा कतिपय ठाउँमा त गाउँ नै छाड्नु पर्ने समस्या आएको राईले बताए ।

‘जङ्गलमा प्रशस्त घाँस भयो भने गाईवस्तुलाई खुवाउन, चराउन पाइन्छ, गोबर मलबाट नै अन्न उब्जने हो ।’ राईले भने । पानी नपरी खडेरी लागेपछि न त घाँस नै हुन्छ न त अन्नबाली नै राईले बताए ।
जलवायु परिवर्तनका कारण समयमा पानी नपर्नाले कतिपय गाउँघरका कृषकहरू गाउँ नै छाडेर तराई या सहरतिर बसाइँ सरेर जाने समस्या बढ्दै गएको पाइन्छ ।

गाउँघरमा उत्पादन हुने मकै, कोदो, फापरलगायतका अन्नबालीहरू खडेरीले बोट नै मर्ने, राम्रो नफल्ने, फलेका फलमा कीरा लाग्नेजस्ता समस्याले गर्दा गाउँघरका कृषकहरू बसाइँ सरेर जाने प्रवृत्ति बढ्दै गएको मोहन राईले बताए ।

‘यस पानीले फागुने मकैलाई काम दियो, वनमा घास पनि पलाउने भयो, तर चैतमा पनि यत्तिको पानी पर्नुपर्छ ।’ राई भन्छन् । माघमा पानी नपरेको झण्डै एक दशक नै भएको थियो । तर यसपाली पानी पर्यो यसरी नै पानी पर्दै जाने हो भने राम्रो उत्पादन हुने राईको भनाइ छ ।

एक दशकपछि उच्च पहाडी भेगमा हिउँ परेको छ भने माटो भिज्ने गरी पानी पनि परेको छ । जिल्लाकै उच्च ठाउँ रौतामाई र लिम्चुङ्बुङको डाँडाकाँडासमेत हिउँ परेको छ । छिकेकी जिल्लाहरूको उच्च पहाडी भेगमा एक दशकपछि मात्रै हिउँ परेको स्थानीयवासीहरू बताउँछन् ।