झापा/ महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले सहारा नेपाल चारपाने सेवा केन्द्रले अचार बनाउने ७ दिने प्रविधि तालिम प्रदान गरेको छ । सेवा केन्द्रले आफ्ना महिला सदस्यहरुलाई माघ १७ देखि २३ गतेसम्म विभिन्न प्रकारका अचार वनाउने तालिम प्रदान गरेको हो ।

२५ जना महिलाको सहभागिता रहेको तालिम बुधवार सम्पन्न भएको छ । समापन कार्यक्रममा सहभागीहरु गीता दाहाल, गोमा सुव्वा, निर्मला रिजाल र पुस्पिता ओझाले अचार वनाउने तालिमले धेरै ज्ञान प्राप्त भएको बताए । उनीहरुले अन्य सदस्यलाई पनि तालिम दिनुपर्ने जोड दिए ।

सहभागी मध्येकी गोमा सुव्वाले सातौं दिनसम्मको तालिमले ८ प्रकारका अचार बनाउन सिकेको बताइन् । ‘सहारा नजिक हुनु नै हामी भाग्यमानी हौ ।’ सुब्बाले भनिन् ।  समापन कार्यक्रमका प्रमुख अतिथि तथा सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले तालिम लिएर मात्र नहुने बताउँदै त्यसलाई व्यवहारमा उतार्नु पर्ने बताए । ‘ कुनै पनि व्यवसायलाई निरन्तरता दिनु नै सफलता हो ।’ गिरीले भने ‘ समयको आवश्यकतालाई पहिचान गरेर व्यवसाय सञ्चालन गर्नुपर्छ ।’ गिरीले उद्योग दर्ता गरेर व्यवसायीक रुपमा व्यवसाय सञ्चालन गरे सहाराले सक्दो सहयोग गर्ने बताए । उनले अचार बनाउने मात्र होइन सहाराले विभिन्न प्रकारका तालिम दिने गरेको बताए ।

तालिमको सहजीकरण शिव वावा अचार उद्योगका सञ्चालक तथा अचार विज्ञ दिनानाथ शिवाकोटी र अम्विकादेवी शिवाकोटीले गरेका थिए । सहारा चारपाने सेवा केन्द्रकी विन्दु श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा सेवा केन्द्रका तालिम संयोजक भरतकुमार पोखरेल, सेवा केन्द्रका प्रमुख जगत कार्की, इलाका प्रवन्धक रामनारायण प्रधानलगायतको उपस्थिति रहेको थियो ।