ताप्लेजुङ/ यातायातका साधन गुड्दा र हावा चल्न थाल्दा धुलोले आकाश नै छोपिएजस्तो हुन्छ । त्यही उडेको धुलोले शरीर भरिन्छ । हिँड्दा खुट्टा भासिन्छ । यस्तैमा दिनभरि भिडिरहन्छन् मजदुरहरू । केहीको मुखमा मास्क छ त धेरैकोमा छैन । दिनभरि काम गरेका मजदुरलाई साँझमा नुहाउन नसके सुत्नै कठिन हुन्छ ।

सडक मजदुरका लागि धुलो स्वास्थ्य चुनौती बनेको छ । बहानन्दे दोभान सडक खण्डमा काम गर्ने सन्देश लिम्बूले भने, ‘मुखमा पस्ने धुलोले त कहिले सास फेर्नै कठिन होलाजस्तो हुन्छ, बसेको डेरादेखि काम गर्ने ठाउँसम्म धुलो नभएको ठाउँ कतै छैन ।’ निर्माण कार्यमा सक्रिय मजदुरका लागि धुलो कठिन चुनौती बनेको छ ।

१० वर्षदेखि देशका विभिन्न ठाउँ पुगेर सडकमा काम गरेको बताउने रामकुमार मगर पहिले धुलोको समस्या नभएको बताउँछन् । ‘पाँच वर्षअघिसम्म पनि मैले खासै महसुस गरिन् ।

पछिल्ला वर्ष भने सडकमा कामै गर्न नसकिने हो कि जस्तो भएको छ’ उनले भने, ‘कहिलेकाहीँ त यसरी काम गरिरहँदा धेरै दिन नबाँचिएला कि जस्तो लाग्छ ।’ अत्यधिक धुलो उड्न थालेपछि त दिउँसोको कामलाई बिहानै गर्ने उनीहरूले सोच बनाएका छन् ।

घाम लाग्ने ठाउँको पहिचान गरेर बिहान ५ देखि ११ बजेसम्म काम गर्ने र दिउँसो ३ बजेपछि फेरि काममा फर्कने सोच बनाएको मगरले बताए । सामान्यतया धुलो उड्ने नै भए पनि यसरी समय मिलाउँदा दिउँसोजस्तो धुलोको सामना गर्नु नपर्ने उनीहरूको भनाइ छ ।

ठूला सडक आयोजनाले पानीले भिजाइरहने भए पनि सानामा यस्तो बजेट हुँदैन । धुलोको मात्रा बढ्दै जाँदा अहिले ठूला आयोजनामा पानी पुर्याउन नसकिएको मजदुरहरू बताउँछन् । सामान्य वर्षा पनि नहुँदा र पानी छिट्ने व्यवस्था गर्न नसक्दा मजदुरहरू प्रभावित भएका छन् ।

मजदुर मात्र हैन, सडक आसपासका बासिन्दा पनि यसको चपेटामा परेका छन् । घरैछेउमा भएको सडकमा सवारी साधन आवत–जावत गर्दा धुलोले घरै छोप्ने फुङ्लिङ नगरपालिका वडा नं. ३ केनिमका पूर्णबहादुर पालुङ्वा बताउँछन् । धोएर सुकाएका कपडा सुक्नै नपाई धुलैधुलो हुने पालुङ्वाको भनाइ छ ।

‘धुलोले खपिसक्नु छैन । खाना खानै लाग्यो रोड (सडक) मा गाडी हुइँकिन्छ, सबै धुलो जति घरभित्र पस्छ’ पालुङ्वा भन्छन्, ‘हतार–हतार खाना छोप्नु पर्छ । नत्र सबै धुलो खानामा पस्छ ।’

हिउँदको समयमा धुलाम्मे सडकका कारण पशुहरूलाई खुवाउने घाँसमा पनि धुलो टाँसिने भएकाले गाईवस्तुले मन लगाएर घाँस नखाने सिम्लेका पशुपालक हरि पौडेल बताउँछन् । ‘हिउँदभरि गाईवस्तुलाई डालेघाँस (रुखको घाँस) खुवाउनु पर्छ ।

सबै घाँस धुलोले छोपेको हुन्छ’ पौडेल भन्छन्, ‘काटेर ल्याएर दियो मन लगाएर खाँदैनन्, वर्षौंदेखि यस्तै छ, अब कहिलेसम्म हो थाहा छैन ।’ सडकको धुलोले बालबालिका र वृद्ध वृद्धालाई बढी असर गरेको उनको भनाइ छ ।