इटहरी/ पूर्वपश्चिम राजमार्गको वैकल्पिक राजमार्ग अन्तर्गत सुनसरीको पकली–नडाहा सडक खण्डको निर्माण कार्य गुणस्तरहीन भएको स्थानीयले आरोप लगाएका छन् ।  पकली नडाहा सडक खण्डको १२ किलोमिटर निर्माणको जिम्मेवारी पाएको दिवा निर्माण कम्पनीले बनाएको सडक निर्माण सम्पन्न नहुँदै भत्कन थालेको स्थानीयको आरोप छ ।

१२ किलोमिटर क्षेत्रफलमा पर्ने ५६ वटा कल्भर्टमध्ये बक्लौरीको शिसुवामा रहेको खहरे खोलामा निर्माण गरिएको कल्र्भट निर्माण पूरा नहुँदै भत्किएपछि पुनःनिर्माणको काम भइरहेको छ । कल्भर्ट निमार्णदेखि निर्माणधिन बाटोको अवस्था दयानीय बन्दै गएको रामधुनी नगरपालिका–६ का स्थानीय चेतबहादुर कार्कीले बताए ।

अहिले निर्माण भइरहेको कल्भर्ट बारम्बार भत्कदैे बनाउँदै गर्ने खेलाची भइरहेको स्थानीय अगुवा पुष्प प्याकुरेलले बताए । ठेकेदार पक्षको चरम लापरबाही भएको भन्दै सरकारी पक्षबाट अनुगमन गर्न उनले माग गरे । स्थानीय सुरेशकुमार दाहाल भन्छन्, ‘बाटो बन्ने खबर र सुरुवाती दिनमा सबै खुसी भए पनि अहिले काम देखेर जनता निराश छन् ।’ कल्भर्ट निर्माणको नक्सा निर्माणमै कमजोरी भएको इञ्जिनियर युरेन्द्र थापाले जानकारी दिए ।

५६ वटा कल्भर्टमध्ये ५२ वटा निर्माण भइसकेको उनले बताए । यता निर्माण कम्पनीले भने सम्झौताअनुसार नै काम भइरहेको दाबी गरेको छ । सडक र कल्भर्ट निर्माणका लागि ५१ करोड रकम विनियोजन गरिएको छ ।

धूलो आतङ्क
पकली–नहडाको बाटो निर्माणका कारण उत्पन्न धूलोले २ हजार घरपरिवार समस्यामा परेका छन् । घर अगाडि सडक आउँदा शुरुमा खुसी भए पनि अहिले बक्लौरीबासी दुखित बनेको गोविन्द राजधामीले बताए । यता निमार्ण कम्पनीका इञ्जिनियर युरेन्द्र थापाले भने निर्माणका चरणमा रहेकाले दैनिक दुई पटक पानी हाल्ने गरेको बताए । पानी हाले पनि अत्यधिक सवारी गुड्ने भएकाले समस्या भएको उनले बताए ।