इटहरी/ आफैले जन्म दिएकी छोरीले आफूलाई अन्याय गरेपछि न्याय माग्न आमा भौंतारिदै छिन् । आफूले २०३२ सालदेखि सुँगुर पालेर कमाएको पैसा आफ्नै छोरीले खाइदिएपछि अहिले न्याय माग्न इटहरीकी ६० वर्षीया सविता बर्देवा न्यायालयदेखि समाजका अगुवाको घर–घरमा पुग्ने गरेकी छन् ।

अर्कोको घरको चारो ल्याएर सुँगुरपालन तथा लुगा सिलाएर कमाएको पैसाले २०६२ सालमा करिब ३ लाखमा किनेको जग्गा छोरीले लगेपछि बुढेसकालमा बिजोक भएको बर्देवाको गुनासो छ । ‘मैले लामो समयदेखि कमाएको पैसा छोरी–ज्वाइँले खाइदिएपछि अहिले मेरो कन्तबिजोक भएको छ’ गहभरि आँशु झार्दै भनिन्, ‘मलाई यो शहरमा कसैले न्याय दिएनन्, श्रीमान् र आफ्नो छोरी अहिले सम्पत्तिकै कारण बिरानो बनेका छन् ।’

‘२०६२ सालमा माओवादीको बिगबिगी थियो । मैले मेहनत गरेर कमाएको पैसाले १० तोला जति सुन किनेको थिएँ । माओवादीको डरले मैले सुन बेचेर जग्गा किनेर घर बनाएँ, त्यतिबेला मेरो नागरिकता हराएको थियो ।

त्यसबेला छोरी रुपा बर्देवाले मेरै नाममा गरिदिनू भनेपछि मैले मानेँ, तर अहिले आफ्नै छोरी मेरो विरोधी भई, सम्पत्ति खाइदिई’ रुँदै उनले भनिन्, ‘आफ्नै छोरीले यसो गर्ली भनेर कहिले सोचेको थिइन् ।’ ‘आँखामा मोतीबिन्दु भइसकेको छ रे, अप्रेसन गर्नुपर्ने, बुढेसकालमा अत्यन्तै पीडामा छु ।

इटहरी–७ मा २०६२ सालमा १ कठ्ठा ५ धुर जग्गा किनेको थिएँ । अहिले त्यो जग्गा र घरको मूल्य करिब २ करोड बढीको सम्पत्ति छ । मैले किनेको जग्गा र बनाएको घरबाट छोरीले जबरजस्ती निकालेपछि अहिले मेरो बिजोक भएको छ’ उनी भन्छिन्, ‘मैले कमाएको सम्पत्तिमा उनीहरूको रजाइँ छ, मलाई न्याय चाहियो ।’

केही महिना अगाडि छोरीले कुटपिट गरेपछि उनी आफ्नै घरबाट निस्किएकी छन् । अहिले उनका श्रीमान् रामकुमार र ज्वाइँ प्रकाश त्यही घरमा बस्दै आएका छन् । उनी चाहिँ छोरा भाइसनको गएर बस्दै आएकी छन् । ‘मैले न्याय समितिदेखि इटहरीका अगुवाहरूलाई हारगुहार गरे पनि अझै न्याय पाइनँ’ उनले भनिन्, ‘मलाई कसैले न्याय दिएनन्, न्यायिक समितिले पनि मलाई न्याय दिएन, लौ न सहयोग गरिदिनु पर्यो ।’

इटहरीको विराटनगर लाइनमा लामो समयदेखि न्यू दुर्गा टेलर्स चलाउँदै आएकी सविता बाँचुञ्जेल कसैको कमाइ नखाउँ भन्ने सोच्थिन् । तर उनलाई आफ्नै छोरीले सुकुम्बासी बनाइदिएकोमा दुःखी छिन् । ‘बुढेसकालमा अहिले सम्पत्तिको नाममा केही छैन, पसलमा पनि काम धेरै गर्न सक्दिनँ, कमाएको सम्पत्ति छोरीले खाइदिई’ उनले भावुक हुँदै भनिन्, ‘९ महिनासम्म पेटमा राख्दा कहिले नरोएकी मलाई अहिले छोरीले बुढेसकालमा रुवाउँदैछे ।’