बिर्तामोड / सधैको जस्तै कार्तिक २८ गते बेलुका अर्जुनधारा ९ का ४६ बर्षीय चन्द्रबहादुर बस्नेत सिटी रिक्सामा यात्रु लिएर बिर्तामोड जाँदै थिए । बिर्तामोड पुग्न लाग्दा अर्जुनधारा ६ को सडकमा उनको रिक्सालाई बिपरित दिशाबाट आउदै गरेको मोटरसाइकलले ठक्कर दियो ।
दुर्घटना त्यति डरलाग्दो पनि होइन । रिक्साका अन्य यात्रु सकुशल छन् । बस्नेत भने सडक किनारामा लड्न पुगे । उनलाई रिक्साले थिच्यो । धेरै बेरसम्म यात्रु तथा त्यहाँ भेला भएका स्थानीयले उनलाई उठाएनन् । पछि केही व्यक्ति आएर बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा पु¥याए । बिर्ता सिटीमा सामान्य उपचारपछि उनलाई बिर्तामोडकै बिएण्डसी हस्पिटल लगियो ।
बिएण्डसी पु¥याए पछि चेकजाँच गर्दा बस्नेतको ‘स्पाइनल कट इन्ज्युरी’ भएको पत्ता लाग्यो । स्पाइनल कट इन्ज्युरीले शरिरका सबै अङगहरु निस्क्रिय बनाउने चिकित्सकहरुले बताएका छन् । सामान्य दुर्घटनामा पनि स्पाइनल कट इन्ज्युरी हुन सक्ने बताइएको छ । यस्ता बिरामीहरु बाँच्न सक्ने सम्भावना कम हुने चिकित्सकको भनाई रहेको छ ।
बिएण्डसी हस्पिटलमा शुरुको १९ दिन आइसियु र ७२ घण्टा भेन्टिलेटरमा राखियो । डाक्टर पंकज नेपालको निगरानीमा उनको उपचार गरियो । बिराम अलिक ठिक भए पछि उनलाई डिस्चार्ज गरेर घरमा ल्याइएको श्रीमति प्रमिला बस्नेत बताइन् । ‘घरमा पनि सोचेजति केयर गर्न सकिएन, बस्नेतले भनिन–‘त्यसपछि न्युरो हस्पिटल बिराटनगर लाने योजना बन्यो ।’
पुस १३ गते बिराटनगरको न्युरो हस्पिटलमा उपचारका लागि एम्बुलेन्समा हालेर लगिँदै थियो । धरमपुर पु¥याए पछि बिपरित दिशाबाट आउँदै गरेको बसले एम्बुलेन्सलाई ठक्कर दियो । बिरामीसहित अन्य सबै घाइते भए । बस्नेतका दाजु टंकको हात दुईठाँउमा भाँच्चियो । १२ वटा करङ भाचियो । त्यसपछि सबै घाइतेलाई बिर्तामोड फर्काइयो । एक महिना ४ दिनको उपचार पछि दाजु टङक अहिले घरमा आराम गरिरहेका छन् । चन्द्रको बिएण्डसीमा उपचार भइरहेको छ ।
पहिलो पटक भएको दुर्घटनाको मोटरसाइकल अति बिपन्न रहेको तथा मोटरसाइकलको बिमा समेत नगरेको हुँदा उपचार खर्च पाउन नसकिएको बस्नेतकी छोरी पुजाले बताइन् । ‘उपचार गर्न सक्दिन भने पछि हामीले त छोडिदिएका थियौं, पुजाले भनिन्–‘पछि उनका बाबु आएपछि हाम्रो दुख देख्नु भएछ, दुइलाख रुपैंयाँ दिनु भयो ।’ धरमपुरमा भएको दुर्घटनाको बस धनिले पुरानो रोगको उपचार नगर्ने भनेर तीनलाख रुपैंया दिएको जानकारी उनले दिइन् ।
बस्नेतको घाँटीमा प्वाल पारेर सास फेर्न सहज बनाइएको छ । लगातारको सुताईले कम्मर मास्तिर गहिरो घाउ निस्केको छ । अहिले आएर चिकित्सकले हड्डीमा संक्रमण भइसकेको बताए पछि बस्नेत परिवार आत्तिएको छ । उनको नशा ड्यामेज भइसकेको हुनाले हात खुट्टा अब नचल्ने भएको छ ।
सम्पतिको नाममा बस्नेत परिवारको दुई कठ्ठा जमिन थियो । बाबुसँग अंश गर्दा आफु बसेको घर भएको जमिन दाजु टङ्कको भागमा परेको थियो । यसैबर्ष आफ्नो भागमा परेको जमिनमा चिटिक्क परेको घर बनाउने योजना बस्नेत परिवारको थियो । तर, घर बनाउनु त कता हो कता अंशमा परेको जमिनसमेत कौडीको भाउमा बिक्रि गर्नुपरेको गुनासो उनीहरुको रहेको छ ।
विभिन्न हस्पिटलमा गरिएको उपचारमा ३५ लाख जति खर्च भइसकेको प्रमिलाले बताइन् । ‘अब के गर्ने भन्ने टुङ्गो छैन, दुविधामा छौ, हस्पिटलले बेलैमा हदैन भन्दिएको भा हुन्थ्यो, प्रमिलाले भनिन–‘अब अन्यत्र लाने आर्थिक हैसियत छैन, जमिन पनि सकियो, आफन्त गुमाउने चिन्ता सगै घरवारबिहिन भयौ ।’
चन्द्रको उपचारका लागि भएको सिरीखुरी त्यही जमिन पनि १२ लाखमा बिक्रि गरेको श्रीमति प्रमिलाले बताइन् । भनिन–‘जमिन त सकियो सकियो मान्छे बचाउन पाए छोरीहरुले मुखसम्म हेर्न पाउने थिए ।’ बस्नेतका तीजना छोरी छन् । जेठी छोरी कक्षा १२ मा अध्ययन गर्दै छन् भने कान्छी ११ बर्षकी । परिवारमा आएको बिपत्ति देखेर जेठी छोरी पुजाले अध्ययन छोडेर बिदेश जान खोजेको आमा प्रमिलाले बताइन् । उपचारमा सहयोग गरिदिन पीडित परिवारले सबैसँग आग्रह पनि गरेको छ ।
पुजाको कक्षा १२ को शुल्क नलिने घोषणा गरेको रुपरत्न माविले उच्च शिक्षा अध्ययनको वातावरण मिलाउने जनाएको छ । विद्यालय सञ्चालक जिना ओलीले स्नातकसम्म अध्ययनका लागि शनिश्चरे क्याम्पसमा ब्यवस्था मिलाइने जानकारी दिइन् । यसैबीच बिद्यालयका शिक्षक कर्मचारीबाट संकलन गरिएको २५ हजार रकम पीडितलाई हस्तान्तरण गरिएको छ ।
































