दमक/ कल्सी ऋषिदेवको घरमा ६ जनाको परिवार छ । उनी घुँगी बेचेर परिवारको गर्जो टार्छिन् । उनको घर रतुवा खोलाको किनारमा छ । काँसको छानो र बाँसका बारभाटाले घर बनाइएको छ । पश्चिम वायूको प्रभावले अहिले नेपालको पूर्वि क्षेत्रमा चिसो बढेको छ ।
बिहान चिसो बताससँगै शित लहर नै पर्न थालेको छ । र यसको असर कल्सीको परिवार जस्तै अन्य बिपन्न परिवारमा परेको छ । बिहान बेलुकाको छाक टार्न बनिबुतो गरेर जिवीका चलाउने कमल गाउँपालिका ६ का बिपन्न परिवारलाई बर्खामा बाढिको पीर छ भने हिउँदमा चिसोको ।
चिसो बढेका कारण उनीहरु समयमा काममा निस्कन सकेका छैनन् । उचित न्यानो कपडा अभावमा उनीहरु समयमा काममा जान नसकेको यहि ठाउँका किसान दर्जि बताउँछन् ।
घर बनाउने मिस्त्रीको काम गर्ने उनी बिहानको सितलहरकै कारण समयमा काममा जान नसकेको बताउँछन् । ‘बाक्लो चिसो छेक्ने कपडा छैन त्यसैले घरबाट बाहिर निस्कन मुस्किल छ ।’ उनले बताए ।
यस गाउँमा करिब २२ घरपरिवार छन् । हरेकले घरअगाडी बिभिन्न कागज , कार्टन बालेर न्यानो हुने गरेका छन् । तर यसो दिगो हुँदैन । एक छिन हुर्र बल्छ निभ्छ । शरिर न्यानो हुन नपाउँदै बालिएको आगो निभ्ने गरेकोले घर देखी बाहिर नस्किनै मन नलाग्ने किष्णीमाया रसाईली बताउँछिन् ।
पश्चिम वायूको प्रभावका कारण अहिले नेपालको पूर्वी भुभावमा जाडो बढेको छ । जाडो बढेका कारण झापाको कमल गाउँपालिकाका बिपन्न तथा बाढि पीडितहरुसमस्या परेको छ । पर्याप्त न्यानो कपडाको अभावमा उनीहरुको समस्यामा परेका हुन् ।
गरिब तथा विपन्न परिवारका लागि भनेर राज्य तथा अन्य विभिन्न दातृ निकायले बेला-बेला न्यानो कपडा बितरण गर्ने गरेका छन् । तर त्यस्ता सहयोग समेत यस ठाउँका नागरिकमा नपुगेको र आफ्ना मान्छे भएको ठाउँमा मात्र त्यस प्रकारको न्यानो कपडा बितरण गर्ने गरेको उनीहरुको गुनासो छ ।
झापाको कमल गाउँपालिकाले यस वर्षको जाडोमा न्यानो कपडा बितरण गर्ने तयारी गरेको छ । गाउँपालिकाका ७ वटै वडाबाट बिपन्न परिवारको तथ्याकं सकंलन गरेर प्रति परिवार एक/एक वटा कम्बल बितरण गर्ने गाउँपालिकाले निर्णय गरेको जनाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष बेणु सिवाकोटीका अनुसार बिपन्न व्यवस्थापनका लागि भनेर छुट्याएको १० लाख रुपैँया बाट न्यानो कपडा बितरण गर्ने तयारी रहेको छ ।
यो वर्षको जाडो सकिने समय हुन लागी सक्यो । तर गाउँपालिकाले अझै सम्म बिपन्न परिवारको तथ्याकं संकलन गरिसकेको छैन । अब कहिले तथ्याकं आउने र बिपन्नले न्यानो कपडा पाउने भन्ने पर्खाईमा यहाँका बिपन्न परिवार रहेका छन् ।
































