रंगेली/ मुख्यमन्त्री शेरधन राईले प्रदेश १ प्रदेशसभाको माघ २० बाट सुरु हुने हिउँदे अधिवेशनले राजधानी र नामको विषय टङ्याउने बताएका छन् । विराटनगरमा नगरबस टर्मिनलको बुधबार उद्घाटनगर्दै मुख्यमन्त्री राईले भावनामा बहकिएर नभई आवश्यकतालाई आधार टुङग्याउने बताए ।

सबैको भावनालाई सम्मान गर्दै धान्नसक्ने संरचनाका आधारमा प्रदेशको राजधानी निर्धारण हुने विश्वास व्यक्त गरे । राजधानीलाई आवश्यकता पर्ने संरचनाको अवस्था र प्रदेशवासीको भावनालाइ समेट्ने नामको पक्षमा सरकारको ध्यान केन्द्रित रहेको उनले बताए ।

‘सरकारले राजधानी र नामको विषय टुङ्ग्याएसँगै विकास निर्माणको काममा केनि्द्रत हुने छ ।’ उनले भने ‘सबै पक्षलाई साथमा लिएर सरकार एक दृष्टिको साथ विकासमा लाग्ने छ ।’ प्रदेश १ को एकमात्र महानगरपालिले प्रदेशमै समृद्धिको प्रतिनिधित्व झल्कने गरि विकास र सौन्दर्य कायम हुनु पर्ने उनको धारणा थियो ।

आठ करोड ४७ लाख रुपैँया लागतमा निर्माण भएको बस टर्मिनलले सवारी चापलाई धान्ननसक्ने भएकोले प्रदेश स्तरीय नयाँ बसपार्क निर्माणलाई प्राथमिकता दिनु पर्ने बताए । यातायात क्षेत्रलाई सुविधासम्पन्न र सडक सुशासन तथा यात्रुमैत्री बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले सेवा प्रवाह स्थललाई सफा र सुन्दर राख्नुपर्ने कार्यक्रम कार्यन्वयनमा ल्याएकोले बस टर्मिनल सञ्चालन गर्दा ध्यान पुर्याउन आग्रह गरे ।

नयाँ बस टर्मिनलको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश संसद मुख्य सचेतक केदार कार्की, संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादव लगायतले शुभकामना दिएका थिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बस टर्मिनल भित्र आवश्यक संरचना थप गरिने बताए । बीस महिनाको अवधीमा निर्माण सम्पन्न भएको टर्मिनल यात्रुमैत्री र नगरको प्रतिष्ठान झल्काउने स्थान बन्ने उनले विश्वास व्यक्त गरे । टर्मिनल सञ्चालनका लागि कार्यविधी तयार गरेर निजी क्षेत्रलाई दिईने समेत बताइएको छ ।

स्थनपान केन्द्र र स्नान गृह विहिन बस टर्मिनल
विराटनगर महानगरपालीकामा बुधबार उद्घाटन गरिएको बस टर्मिनल यात्रुमैत्री नभएको भन्दै सहभागीले नै आलोचना गरेका छन् ।

उद्घाटन कार्यक्रममा सहभागी अथितिहरुले टर्मिनलमा यात्रुलाइ अवश्यक पर्ने स्थानको व्यवस्था छुटेको बताएका हुन् । आठ करोड ४७ लाख रुपैँयाको लागतमा बनेको बस टर्मिनलमा बाथरुम, काखे बच्चा भएका आमाले दुध खुवाउने स्थान,बृद्धबृद्धालाई आराम गर्ने स्थानको अभाव देखिएको बताएका थिए ।

प्रशासनीक र यात्रु रहने भवन सबै प्रकारका यात्रुमैत्रि नदेखिएको हो । टर्मिनल भवनको पहिलो तलामा टिकट काउन्टर, प्रशासनिक कक्ष, माथिल्लो तलामा रेष्टुराँ, यात्रु प्रतिक्षालय, सामान राख्ने स्थान र रिफ्रेसमेन्ट कक्ष छ । भवनमा आमाले स्थनपान गराउने र मुखधुन तथा स्नानका बाथरुम छैन ।

मुख्यमन्त्री राईले माग भएका संरचना निर्माणमा ध्यान दिन सुझाव दिए । त्यस्तै नगर विकास कोषका अध्यक्ष ध्रुव रिजालले आवश्यक पर्ने बाथरुम नबन्नु त्रुटी भएकाले सोहि निर्माण कम्पनीबाट बनाउनु पर्ने बताए । उनले त्यसकोलागी सहयोग गर्न तयार रहेको बताए ।

काँग्रेसका सचेतक केदार कार्कीले बस टर्मिनलमा स्थनपान केन्द्र र स्नान गृहको अभाव रहेको बताए । उनले रातको समयमा पनि टर्मिनल खुल्ला रहने भएकोले यात्रुको सुरक्षाकोलागी सिसि क्यामेरा जडान गर्नु पर्ने बताए ।

उनले उल्लेखित सबै व्यवस्था नभएसम्म टर्मिनल अपुरो हुने धारणा राखे । बीस महिनामा निर्माण सम्पन्न भएको टर्मिनलका लागि नगर विकास कोषले ९० प्रतिशत लगानी गरेको छ । महानगरले २ दशमलव शून्य ५ प्रतिशत मात्रै लगानी गरेको छ ।

महानगरले गर्नुपर्ने १० प्रतिशत लगानीमा समेत कोषले बाँकी रकम थप गरेको थियो । टर्मिनलको निर्माण गौरी पारवती निर्माण सेवा काठमाण्डौले गरेको हो ।