इनरुवा/ सुनसरीको कोशी गाउँपालिकामा समपन्न भैंसी सुन्दरी प्रतियोगिताको बिजेतालाई भैंसी उपहार प्रदान गरिएको छ । कोशी कटानमा समपन्न प्रतियोगितामा प्रतिष्पर्धा गराइएका ९० वटा भैंसी मध्ये छनौटका आधारमा उत्कृष्ठ ठहरिएको भैंसी सुन्दरी धनी विन्देश्वर इशरलाई प्रथम पुरस्कार बापत लैनो भैंसी प्रदान गरिएको हो ।

प्रतियोगिता कोशी गाउँपालिकाले आयोजना गरेको भएपनि भैंसी सुन्दरीलाई प्रदान गरिएको प्रथम पुरस्कार बापतको लैनो भैंसी भने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले प्रदान गरेका हुन् । एक नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला सहित इनरुवा नगरपालिकाका प्रमुख मेहता र कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले संयुक्त रुपमा पुरस्कार वितरण गरेका हुन् ।

सुनसरीमा भैंसी सुन्दरी प्रतियोगिताको अवधारणा भने पहिलो पटक इनरुवा नगरपालिकाले अघि सारेको थियो । सोही अनुरुप प्रतियोगिताको तयारी थाल्दै गर्दा नगर प्रमुख राजन मेहताले व्यक्तिगत पहलमा १ लाख ५० हजार लागतको भैंसी खरिद गरेका थिए ।

अल्पमतमा रहेका मेयर मेहताको सो प्रस्ताव कार्यापालिकाबाट पारित हुन नसक्दा भैंसी थन्किन पुगेको थियो । कोशी गाउँपालिकासँग भगिनी सम्बन्ध गाँसेसँगै इनरुवा नगर प्रमुखले इनरुवाको लागि खरिद गरिएको भैंसी कोशी गाउँपालिकामा आयोजित भैंसी सुन्दरी प्रतियोगिताको बिजेतालाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा भैसीं सुन्दरी सहित गाई सुन्दरीमा उत्कृष्ठ ठहरिएका धनीलाई नगद सहित सम्मान गरिएको थियो ।